प्रधानमन्त्रीले भेट्दैमा कांग्रेस सत्तामा जान्छ भन्ने हाेइन : प्रवक्ता शर्मा

 मंसिर ८, २०७७ सोमबार १९:५६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न कांग्रेसले आग्रह गरेको हो ।

पार्टीभित्र द्वन्द्व चलिरहेका बेला प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग भेट गरेको विषयमा भइरहेको टिप्पणीलाई लक्षित गर्दै कांग्रेसले अहिले सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताएको हो । शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो ।

सोमबार न्युज एजेन्सीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको बीचमा भेटघाट हुनका लगि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचित जस्तो लाग्दैन । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा हो ।’

उहाँले प्रधानमन्त्रीले सत्तामा सहभागी गराउने ‘अफर’ कांग्रेसलाई गरेको हो कि भन्ने आशङ्का नगर्न पनि आग्रह गर्नुभयो । अहिले सरकारमा सहभागी हुने काङ्ग्रेसको रुचिको विषय नभएको शर्माको भनाइ छ । नागरिकले पाँच वर्ष प्रतिपक्षी भूमिकामा बस्न आदेश दिएकाले सत्ताका लागि आफूहरू लालायित नभएको उहाँले बताउनुभयो ।

उहाँले नेकपाभित्रको द्वन्द्वमा आफ्नो पार्टी पूरै निरपेक्ष रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँच वर्षका लागि प्रतिपक्षीमा रहने जनादेश छ । हामी सत्ताका लागि लालायित छैनौँ । नेकपाभित्रको द्वन्द्वमा हामी पूरै निरपेक्ष छौँ । उहाँहरूको कुनै प्रकारको जोड–घटाउ हुँदै गर्दा प्रतिपक्षीकाे टाउको गणना गर्ने काम कतैबाट नहोस् भन्ने हो ।’  

विगत अढाइ वर्षको अवधिमा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्दा पार्टी सभापति एक्लैले नगरेको स्मरण गराउँदै शर्माले पहिले पदाधिकारी तहमा छलफल गरेर केन्द्रीय कार्यसमितिको निर्णयअनुसार अगाडि बढ्ने बताउनुभयो ।

भोलिको दिनमा नेकपा एउटै बाटोमा जान्छ भन्ने टुङ्गो नभएको उल्लेख गर्दै शर्माले भन्नुभयो, ‘उनीहरू एउटा निश्चित टुङ्गोमा नपुग्दासम्म नेपाली कांग्रेसले टिप्पणी गरिराख्नुपर्ने, धेरै चासो राख्नुपर्ने र सत्तारुढ दलमा केही द्वन्द्व भयो भन्दैमा कांग्रेसले सत्ताका लागि खुट्टा उचालिहालेको वा अलिकति उज्यालो अनुहारका साथ सिंहदरबारतिर हेरेको नसोच्न आग्रह गर्दछु ।’ 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया