सात कार्यालयमा छड्के अनुगमन, कार्यालय प्रमुखसहित १७ कर्मचारी अनुपस्थित : न बिदा स्वीकृत, न कार्यालयलाई जानकारी

 मंसिर ९, २०७७ मंगलबार १४:२३:१० | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोटमा रहेका सात वटा सरकारी कार्यालयका १७ जना कर्मचारी सोमबार कार्यालयमा भेटिएनन् । 

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले कार्यालयमा कर्मचारीको अनियमितताबारे गुनासो बढेपछि छड्के अनुगमन गरेको हो । अनुगमनको क्रममा पाँच ओटा कार्यालयका कार्यालय प्रमुखसहित १७ जना कर्मचारी अनुपस्थित रहेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । बिदा नै नलिइ कर्मचारीहरु कार्यालयमा अनुपस्थित भएका हुन् ।

नागरिकमैत्री सेवा प्रवाह भरपर्दो बनाउने उद्देश्यले छड्के अनुगमनको काम सुरुवात गरिएकाे प्रजिअ राईले बताउनुभयो । सेवा प्रवाहको अवस्था, कर्मचारीको अनुशासन र मर्यादा जाँच गर्न पनि कार्यालयमा निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जनाउनुभयो । ‘एकैदिन सात वटा सरकारी कार्यालयका १७ जना कर्मचारी बिदा स्वीकृति नगरि कार्यालयमा अनुपस्थित रहेको पाइयो’, प्रजिअ राईले भन्नुभयो, ‘जानकारी र बिदा बिना नै कार्यालयमा नआउनु पेसाप्रतिको लापरबाही हो ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय, सडक पूर्वाधार विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय, डिभिजन वन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ ।

अनुपस्थित कर्मचारीलाई आज मंगलबार नै कारबाहीको प्रक्रिया सुरु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘पहिलो पटक स्पष्टीकरण सोधिने छ’ प्रजिअ राईले भन्नुभयो, ‘स्पष्टीकरण चित्त बुझ्दो नभए, लापरबाही गरिएको पाइएमा विभागीय कारबाहीको लागि प्रक्रिया अगाडि बढाइने छ ।’

अधिकांश कार्यालय ‘भद्रगोल’

अनुगमन गरिएका अधिकांश कार्यालयका कर्मचारीहरू तोकिएको पोसाक नलगाएको, नागरिक वडापत्र व्यवस्थित रूपमा नराखिएको, कार्यालय परिसरमा सरसफाई नगरिएको, सहायता कक्ष, गुनासो पेटिका, नियमित सूचना सार्वजनिक नगरिएको, कार्य सम्पादनको अभिलेखीकरण नराखिएको, नव प्रवर्द्धनात्मक क्रियाकलाप नगरिएको पाइएको छ ।

‘पहिलो पटक सुझाव दिइएको छ’, प्रजिअ राईले भन्नुभयो, ‘आउँदाे दिनहरूमा सेवामैत्री क्रियाकलापहरूमा ध्यान नगरिएको पाइएमा कसैलाई छुट दिइने छैन ।’   

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया