सङ्क्रमणकाे अवस्था हेरेर अरू देशमा पनि उडान अनुमति दिने सीसीएमसीकाे निर्णय

‘एक/दुई जना कर्मचारीमा सङ्क्रमण देखिने बित्तिकै सरकारी कार्यालय बन्द नगराैँ’

 मंसिर ९, २०७७ मंगलबार १८:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना सङ्क्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी अरू देशमा पनि उडान अनुमति दिने निर्णय गरेको छ ।मङ्गलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका देशबाहेक अन्य देशमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।

सङ्क्रमणको जोखिम मूल्याङ्कन गरी अन्य देशमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘नियमित उडान स्वीकृति भएका देशका अलावा सङ्क्रमणको जोखिम मूल्याङ्कन गरी अन्य देशमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकता अनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ ।’

विभिन्न सरकारी कार्यालयमा एक दुई जनामा सङ्क्रमण देखिने बित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेकाले त्यस्तो नगर्न पनि सीसीएमसीले निर्देशन दिएको छ । सङ्क्रमित व्यक्तिहरुलाई आइसोलेशनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

सङ्क्रमण उच्च रहेका र कम हुँदै गएका ठाउँमा के–कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । पछिल्लो समय काठमाण्डौ उपत्यकामा सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । यद्यपि सीसीएमसीले तत्काल निषेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन । सङ्क्रमणको उच्च रहेको सीमित ठाउँलाई सिल गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले बताउनुभयो ।

उपत्यकामा रहेको एकीकृत एम्बुलेन्स सेवाको पार्किङ समस्या रहेकाले विभिन्न पालिकामा पार्किङका लागि व्यवस्थापन गर्ने निर्णय भएको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया