महिला माथि हुने हिंसा अन्त्यका लागि मिलेर काम गर्न जोड

 मंसिर १०, २०७७ बुधबार १६:१६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले कार्य क्षेत्रमा महिलामाथि हुने हिंसा अन्त्यका लागि तीनै तहको सरकार मिलेर काम गरिरहको बताउनुभएको छ ।

 महिला हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा जोन्टा कल्ब काठमाण्डौले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले महिलामाथि हुने हिंसा मेलमिलापमार्फत मिलाउने गरेको भन्दै सरकारले महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि छिट्टै नीति ल्याउने  बताउनुभएको हो । 

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘काम गर्ने ठाउँ जस्तै उद्योगहरुमा पनि अहिले महिलाहरुले हिंसा भोगिरहनु परेको छ, त्यसको अन्त्यका लागि सरकारले नीति बनाएको छ त्यो नीतिमाथि अहिले समितिमा छलफल भइरहेको छ, यो नीति नीजि र सार्वजनिक दुवै श्रेत्रलाई समेट्छ ।’ 

साथै उहाँले महिलामाथि हुने हिंसाको अन्त्य लागि कदम सबैभन्दा पहिला घर घरबाट थाल्नुपर्ने बताउनुभयो ।  

सरकारले ल्याउन लागेको नयाँ नीतिले  सार्वजनिक र निजी दुवै क्षेत्रमा हुने हिंसा अन्त्यका लागि भूमिका खेल्ने र दुवै क्षेत्रको कार्यक्षेत्रलाई आचार संहितामा राख्ने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । 

यस्तै जोन्टा क्लब काठमाण्डौकी अध्यक्ष सीमा गोल्छाले महिलामाथि हुने हिंसा एक प्रकारको मानवअधिकारकै हनन भएको भन्दै कार्यक्षेत्रमा महिलामाथि हुने हिंसा अन्त्यका लागि काम गर्नुपर्ने बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कार्यक्षेत्रमा काम गर्ने स्वछ वातावरण हुनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले कार्यक्षेत्रमा महिलामाथि हुने हिंसाको सम्वोधन गर्ने छुट्टै व्यवस्था गर्न आग्रहसमेत गर्नुभयो । 

अन्तर्राष्ट्रिय श्रम संठगनका कन्ट्रि डिरेक्टर रिचर्ड हावर्डले श्रमिकलाई नै कार्यक्षेत्रमा हुने हिंसाका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो भने आन्तर्राष्ट्रिय आप्रवासन संठगन (आइओएम) मिसन चिफ लोरेना ल्याण्डोले महिलामाथि हुने हिंसा अन्त्यका लागि १६ दिने अभियान महत्वपूर्ण अवसर भएको बताउनुभयो ।

पौरखी नेपालकी सहसंस्थापक मञ्जु गुरुङले महिला भएकै कारण देशभित्रै पनि महिलाहरुले कार्यक्षेत्रमा विभिन्न प्रकारका हिंसा भोग्न परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिंसामा परे पनि धेरै जसो महिलाहरुले उजुरी नै गरेका पाइँदैन, जसको कारण आत्महत्याको बाटो पनि रोज्न परेको छ ।’

सरकारले वैधानिक बाटो बन्द गरेकाले विभिन्न बाटो हुँदै श्रम गर्न परदेश जाने श्रमिकहरु झन हिंसामा परेको भन्दै अब सरकारले सुरक्षित र स्वच्छ भर्नामा जोड दिनुपर्ने गुरुङको भनाइ छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान आज अर्थात नोभेम्बर २५ देखि सुरु भएको छ । 

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो । हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाका विरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ ।

विभिन्न अध्ययनहरु अनुसार संसारभरिका प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् । धेरैजसो हिंसा उनीहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट हुने देखिएको छ ।

त्यस्तै अर्को अध्ययनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक या यौनजन्य हिंसाको शिकार हुने गरेका देखाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया