व्यवसायीको हितमा काम गर्ने दुवै पक्षको दाबी : ढकाल समूहको भिजन सार्वजनिक

 मंसिर ११, २०७७ बिहिबार ६:५४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आज सुरु हुँदैछ । काठमाण्डौमा तीन दिनसम्म चल्ने वार्षिक साधारणसभाले नयाँ नेतृत्व र भावी अध्यक्षको लागि वरिष्ठ उपाध्यक्ष समेत चयन गर्नेछ । वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको लागि स्वतः अध्यक्ष हुने प्रावधानका कारण हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नुहुनेछ ।

अबको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिष्पर्धामा हुनुहुन्छ । दुवै उम्मेद्वारले आफूहरुले देशैभरीका उद्योगी व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता  जनाएका छन् । सर्वसम्मत नेतृत्व चयनको प्रयास भैरहे पनि सहमतिको सम्भावना कम हुँदै गएको छ ।

जित सुनिश्चित रहेको दुवै पक्षको दाबी

वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र प्रधान दुवैले आफूहरुको जित सुनिश्चित रहेको दावी गरेका छन् । ढकाल प्यानलमा जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोशियट उपाध्यक्षमा रामचन्द्र सांघाईले उम्मेदवारी दिएका छन् । प्रधान प्यालनमा  जिल्ला÷नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतमा अञ्जन श्रेष्ठ र एशोशियटमा सौरभ ज्योतिको उम्मेदवारी परेको छ । 

दुवैको चुनावी एजेन्डा महासंघलाई बलियो बनाउने, आत्मनिर्भर हुनेगरी व्यवसाय विस्तारमा सहजीकरण गर्ने र उद्योग व्यवसायीको हितमा देश विदेशमा लबिङ गर्ने रहेको छ ।

चन्द्र ढकालले आफू सानो उद्यमीबाट यात्रा थालेर अहिले देशकै एक अब्बल उद्यमीको रुपमा चिनिएकाले सबैलाई मिलाएर लैजान सक्ने र व्यवसायीका पीरमर्का बुझ्ने बताउँदै आउनुभएको छ । बरिष्ठ उपाध्यक्षका अर्का उम्मेद्वार किशोर प्रधानले पनि आफू जिल्ला नगरबाट चुनाव जित्दै, व्यापार व्यवसायको साथमा उद्योगी व्यापारीका समस्या समाधानमा लागेको बताउनुभएको छ । २८ वर्षदेखि यही क्षेत्रमा भिजेकाले आफू नै वरिष्ठ उपाध्यक्ष हुनुपर्ने प्रधानको भनाई छ

ढकाल समूहको ‘एफएनसिसीआई भिजन’ सार्वजनिक

वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले आफ्नो कार्यकालमा गर्ने काम समावेश गरेर ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ । ढकाल समूहले आफ्ना एजेण्डालाई समेटेर २५ बुँदामा भिजन सार्वजनिक गरेको हो । आफू वरिष्ठ उपाध्यक्ष भएपछि र त्यसपछिको अध्यक्षको कार्यकाललाई समेत समेटेर महासङ्घमा गर्नुपर्ने सुधारका साथै नेपालको उद्योग व्यवसाय क्षेत्रका व्यावसायिक हकहितका विषयलाई समावेश गरिएको छ ।

त्यसमा महासङ्घको सशक्तता र सुधार, जिल्ला नगर उद्योग वाणिज्य सङ्घलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीका हकहितका विषयवस्तु, नीति निर्माणमा गरिने पैरवी, हालको कोभिड महामारीका कारण नेपालको उद्योग व्यवसाय क्षेत्रले भोग्नुपरेका समस्या र त्यसको समाधान, नेपालमा उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण, नेपालमा वैदेशिक लगानी भित्र्याउने वातावरणको निर्माण जस्ता विषय उल्लेख गरिएको छ ।

महासङ्घ र नेपालको उद्योग व्यवसाय क्षेत्रको विकास विस्तारका विषयलाई यस भिजनले तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य समेटिएको छ । तत्कालिक प्राथमिकतामा कोरोना भाइरस महामारीले सबभन्दा बढी र प्रत्यक्ष मार सबै दृष्टिले मुलुकका उद्योग व्यवसायमाथि परेको भन्दै त्यसको सबलीकरणमा जोड दिएको छ । आगामी पाँच वर्षभित्र महासङ्घलाई निजी क्षेत्रको सङ्घीय अभिभावकीय संस्थाका रूपमा रुपान्तरण गरी ‘एफएनसिसिआइ भिजन २०२५’को अवधारणा कार्यान्वयन गर्न एउटा अलग्गै रणनीतिपत्र बनाउने उल्लेख छ ।

पूर्वाधार, औद्योगीकरण, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, सेवा आदि सबै क्षेत्रमा ठूलो लगानी भित्र्याउनु अपरिहार्य रहेको भन्दै उक्त अवधारणामा लगानी बोर्ड, औद्योगिक प्रवद्र्धन बोर्ड तथा उद्योग विभागबाट भित्रिने लगानीको सहजीकरण गर्न महासङ्घमा व्यावसायिक लगानी सहजीकरण शाखा नै स्थापना गरी अनलाइन र प्रत्यक्ष निःशुल्क परामर्श सेवा प्रदान गरिने उल्लेख छ ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया