संसारकाे कुनै पनि आकाशमा नेपाललाई प्रतिबन्ध लगाउनुपर्ने औचित्य छैन : मन्त्री भट्टराई

 मंसिर १२, २०७७ शुक्रबार १८:०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसारको कुनै पनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउने औचित्य नभएको दाबी गर्नुभएको छ । 

नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले संसारको कुनै पनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउनुपर्ने औचित्य समाप्त भइसकेको बताउनुभयो । तर पनि युरोपेली आकाशमा भएको प्रतिबन्ध हटाउन अझै केही कानुनी पुनर्संरचना गर्नुपर्ने उहाँको भनाइ छ । त्यसका लागि नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुई भागमा विभाजन गरी दुई वटा सङ्गठन बनाउने प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो ।

त्याे विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल भइ अगाडि बढिसकेको र आउने अधिवेशनमा प्रतिनिधि सभामा समेत टेबुल हुने चरणमा रहेको बताउनुभयो । अहिले प्रकाशित भएको सेफ्टी रिपोर्ट र सङ्गठनात्मक पुनर्संरचनाको कानुनी निर्णयबाट नेपालको हवाई उड्डयन क्षेत्रको कुनै पनि प्रतिबन्धहरू फुकुवा हुने ठाउँमा पुग्ने बताउनुभयो ।

कोभिडको व्यापक सङ्क्रमण भएको अवस्थामा पनि नेपालको एअरपोर्ट एक दिन पनि बन्द नभएको दाबीसमेत मन्त्री भट्टराईले गर्नुभयो । नियमित उडान बन्द गरिए पनि एअरपोर्ट बन्द नभएकोले नेपालको उड्डयन क्षेत्रले आफ्नो क्षमता विश्व सामु देखाइसकेको उहाँको भनाइ छ ।

अहिले पनि केही अन्तर्राष्ट्रिय गन्तव्यबाहेक नेपालले विगतमा नियमित उडान गरेका गन्तव्यमा नेपालको तर्फबाट खुला गरिएको भट्टराईले बताउनुभयो । नेपालले कोभिड रोकथामका लागि उड्डयन क्षेत्रमा लागू गरेको मापदण्ड विश्वमै उदाहरणीय भएको पनि उहाँले दाबी गर्नुभयो । 
 
प्राधिकरणले सार्वजनिक गरेको सेफ्टी रिपोर्टअनुसार नेपालमा हवाई उड्डयनमा दुर्घटना कम हुँदै गएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पछिल्लो तीन वर्षमा वार्षिक एक वटा दुर्घटना भएको र मानवीय क्षतिसमेत कम भएको बताउनुभयो । हवाई उड्डयनलाई सुरक्षित बनाउन आईकाओको एभिएसन सेफ्टी रिपोर्टअनुसार प्रोएक्टिभ अवधारणा र रिएक्टिभ अवधारणाअनुसार सेफ्टी रिपोर्ट तयार पारिएको उहाँले बताउनुभयो ।    

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया