‘विदेश सचिवकाे भ्रमणले दुई देशबीचकाे संवादहीनता ताेड्याे’

‘छिमेकीहरूसँग चिसिएको सम्बन्धले भारतलाई फाइदा पनि गर्दैन’

 मंसिर १२, २०७७ शुक्रबार १९:२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्व परराष्ट्र सचिव प्रद्युम्न विक्रम शाहले भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गलाकाे नेपाल भ्रमणले दुई देशबीचको संवादहीनता तोडेको बताउनुभएको छ ।  

दुई दिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किनुभएका शृङ्गलाकाे नेपाल भ्रमणले नेपाल–भारतबीच विगत एक वर्षदेखिको संवादहीनता तोडेको उहाँले बताउनुभयो । दक्षिण एसियाको महाशक्तिका रूपमा उदाइरहेको भारतलाई नेपाललगायत छिमेकीहरूसँग चिसिएको सम्बन्धले फाइदा पनि नगर्ने उहाँले बताउनुभयो । शृङ्गाको नेपाल भ्रमणले दुई देशबीचको चिसिएको सम्बन्ध सुमधुर मात्रै नभएर भारतको आन्तरिक जीवनमा पनि यसले ठूलो भूमिका खेल्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसले बल 'रोल' हुन थालेको छ । दुई पक्षीय वार्ता नभएर संवादहीनताको अवस्थालाई यसले चिरेको छ । भारतको चाहना पनि छिमेकी राष्ट्रसँग चिसिएको सम्बन्धले फाइदा गर्दैन भन्ने हो । आन्तरिक राजनीतिक र अन्तर्राष्ट्रियस्तरमा भारतको ‘क्रिटिसिजम’ नै हुन्छ । त्यसैले पनि भारतले नेपाललगायत माल्दिभ्स, भुटान र बङ्गलादेशलगायतका देशहरूसँग सम्बन्ध विकास गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घीय परिषद्को सदस्यता पाउन प्रयासरत रहेको भारतलाई सबै देशको सपोर्ट आवश्यकता पर्छ । त्यसैले भारतले सबै छिमेकीसँगको सम्बन्ध सौहार्द राख्न प्रयास गरेको छ ।’

पूर्व परराष्ट्रसचिव शाहले परराष्ट्रमन्त्रीस्तरमा हुने वार्तामा नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायत ७१ ठाउँमा देखिएको सीमा विवादको विषयलाई मुख्य मुद्दा बनाउनुपर्ने बताउनुभयो । ईपीजीले तयार पारेको प्रतिवेदनमाथि फेरि दुवै पक्षले छलफल गरी अन्तिम रूप दिनुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

नेपालको तराई क्षेत्रमा बर्सेनि डेढ दर्जनभन्दा बढी क्षेत्रमा डुबानकाे समस्या रहेको उल्लेख गर्दै उहाँले त्यो समस्या समाधान गर्दै नेपाल–भारतको बढ्दो व्यापार घाटाको विषयमा पनि नीति परिवर्तनको मुद्दा उठाउनुपर्ने बताउनुभयो । उहाँले रक्सौल–काठमाण्डौ र पूर्व–पश्चिम रेल तथा हुलाकी राजमार्गलगायतका एजेण्डा राख्नुपर्ने पनि बताउनुभयो ।

बिहीबार नेपाल आउनुभएका भारतीय विदेश सचिव शृङ्गला शुक्रबार स्वदेश फर्किनुभएको छ । नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया