भारतीय विदेश सचिव स्वदेश फिर्ता

 मंसिर १२, २०७७ शुक्रबार २०:१७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दुई दिने नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गला शुक्रबार साँझ स्वदेश फिर्ता हुनुभएकाे छ । 

नेपालको भ्रमण सफलतापूर्वक सम्पन्न गरी शुक्रबार साँझ उहाँ विशेष विमानबाट नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्र सचिव भरतराज पौड्याल तथा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले बिदाइ गर्नुभयो ।

बिहीबार दिनभर नेपालका उच्च सरकारी अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता र परामर्शमा व्यस्त शृङ्गलासँग नेपाल–भारत सम्बन्धका सबै पक्षमा गहन छलफल भएका थिए । व्यापार, पारवहन, सम्पर्क सञ्जाल विस्तार, सीमा समस्या समाधान, भौतिक पूर्वाधार, ऊर्जा, कृषि, लगानी, संस्कृति, जनस्तरको सम्बन्ध, कोरोनाको महामारीविरुद्धको लडाइँ र अनुभव आदान–प्रदानलगायत पारस्परिक हित र चासोका सबै विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भएका थिए ।

शुक्रबार सचिव शृङ्गलाले भारत सरकारको सहयोगमा गोरखामा निर्मित तीन विद्यालय भवनको उद्घाटन गरेर पालिकालाई हस्तान्तरण गर्नुभएकाे थियाे । 

भारतीय विदेश सचिवकाे भ्रमणलाई लिएर विज्ञहरूले नेपाल–भारतबीचकाे संवादहीनता ताेडिएकाे बताएका छन् ।  

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया