देशभर चिसो बढ्यो : काठमाण्डौ उपत्यकामा एकैदिन तीन डिग्री सेल्सियस तापक्रम घट्यो

 मंसिर १३, २०७७ शनिबार ८:७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर चिसो बढेको छ । काठमाण्डौ उपत्यकामा एकैदिन तीन डिग्री सेल्सियस तापक्रम घटेको छ ।

काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रहेकोमा आज बिहानको तापक्रम पाँच डिग्री सेल्सियसमा झरेको छ । यो वर्ष जाडो सुरु भएयताकै काठमाण्डौमा कम तापक्रम हो । तापक्रम अझै घट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजोअस्ति राति बादल लाग्ने गरेकाले न्यूनतम तापक्रम त्यति धेरै घटेको थिएन । तर आज राति बादल नलागेकाले चिसो बढेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झरेको थियो ।

जोमसोमको २ दशमलव २, जिरीको ४ दशमलव ५, ओखलढुङ्गाको ९ दशमलव ५, ताप्लेजुङको ८ दशमलव ५, दिपायलको ६ दशमलव २ र पोखराको १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । अबको तीन दिन देशभरको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव हटेर गएकाले अबको तीन दिन देशभर पानी पर्ने वा हिमपात हुने सम्भावना नभएको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया