प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने चन्द्र ढकालको प्रतिवद्धता

 मंसिर १४, २०७७ आइतबार ६:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ ।

महासंघको ५४ औ वार्षिक साधारण सभामा शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो । वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित हुनुभएको छ ।

महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । जिल्ला नगरतर्फ कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याउनुभएको थियो । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२  र प्रधानले ३ सय ७५ मत पाउनुभएको थियो  । त्यसैगरी ६० जना कार्यकारणी सदस्य निर्वाचित भएका छन् । 

निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले आफूले सबै व्यवसायीका प्रतिनिधित्व गरेको र आफ्नो जित भनेको व्यवसायीको जित भएको प्रतिक्रिया दिनुभयो । आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले यो भन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो ।  आजदेखि हाम्रो पक्ष विपक्षभन्दा पनि सबै निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवसायीका सम्बन्धमा एउटै आवाज उठाउनेछौँ भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी हामीले गर्नेछौ । मेरो जित भनेको सम्पूर्ण व्यावसायीक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।’

यस्तै एसोसियटतर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिनुभयो । उहाँले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरेर निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघाई आफैंमा सवल र सक्षम बनाउनुको साथै व्यावसायिक ज्ञान वृद्धि लगायततर्फ आफ्नो पहल हुने बताउनुभयो । त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्ने तर्फ आफ्नो प्रयास हुने उहाँले उल्लेख गर्नुभयो ।

वस्तुगततर्फको उपाध्यक्षमा विजयी अञ्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले लगानीको अवसर र वातावरणसँगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया