शैक्षिक गतिविधि सुरु हुन थाले : पालिकाको निर्णयमा विद्यालय खुल्दै

 मंसिर १४, २०७७ आइतबार ८:४४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय सञ्चालनका आधार तय गरेपछि विभिन्न पालिकामा शैक्षिक गतिविधि सुरु हुन थालेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको महिना ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ जारी गर्दै पालिकामा जिम्मेवारी हस्तान्त्ररण गरेपछि पालिकाले आवश्यक परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ सुरु गरेका हुन् । 

भक्तपुरको वासु माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बिका न्याईंच्याईंका अनुसार कोरोनाका कारण वैकल्पिक माध्यमको पढाइका लागि सूचना र प्रविधिमा पालिकाले लगानी गर्नुपर्ने देखिएको र अब जसरी हुन्छ पठनपाठन सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कक्षा १२ को परीक्षा स्वास्थ्य मापदण्ड र भौतिक दूरीसहित व्यवस्थित सञ्चालन भएकाले अब विद्यालय सञ्चालनको ढाँचा यस्तै प्रकारको हुने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । उहाँले अनलाइनबाट पढ्न चाहनेलाई पनि सुविधा दिँदै विद्यालय सञ्चालन गर्दा बालबालिकाको चाहना समेत सम्बोधन हुने बताउनुभयो ।

कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिनु चुनौतीपूर्ण भएका बेला जनस्वास्थ्यको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न थालिएको लमजुङको मर्स्याङ्गी गाउँपालिकाकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो । विद्यार्थी सङ्ख्या बढी भएमा समूह विभाजन गरेर व्यवस्थापन गर्न सकिने र त्यसै अनुसार व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।

विद्यालय सञ्चालनका क्रममा अभिभावकसँग परामर्श लिइ केन्द्र, प्रदेश र पालिकाले योजना बनाउनुपर्नेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाको जोड छ । उहाँले विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्न र विद्यालयमा क्वरेन्टीन वा अस्पताल नराख्न आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया