‘आर्थिक उपार्जनका वैकल्पिक बाटो खोजिरहेकाहरुको प्रवेशले सेयर बजार उचाइमा पुगेको हो’

 मंसिर १४, २०७७ आइतबार १२:३४:५६ | दिलिप मुनंकर्मी
unn.prixa.net

सेयर बजारको कारोबार भनेको लगानीकर्ताहरुको मनोभावमा भर पर्ने हुन्छ ।

उनीहरुको मानसिकता कस्तो हुन्छ भन्ने कुरामा सेयर बजार कसरी अघि बढ्छ, बजारमा सेयरको माग र आपूर्ति कसरी भैरहेको छ, त्यसले पनि फरक पर्छ । अहिलेको अवस्थामा भन्ने हो भने धेरै कारोबारी साथीहरु बजारमा सक्रिय हुनुभएको छ । जसले ऋण लिएर सेयर कारोबार गर्नुहुन्छ अथवा पैसा सजिलै र सहजै पाइएको छ, अहिले यसले पनि ‘प्लस प्वाइन्ट’ गरेको छ । 

अहिले अरु क्षेत्रमा आर्थिक गतिविधिहरु एकदमै संकुचित भएको छ । अहिलेको अवस्थामा केही काम गरेर ल यसरी लगानी गरौँ भन्दा पनि त्यो अवसरहरु हामीसँग कम छ । अरु क्षेत्रमा लगानी गर्ने पैसा सेयर बजारतिर केन्द्रीत भएकोले पनि यतातिरको कारोबार उच्च बिन्दुमा पुगेर रेकर्ड कायम गरेको जस्तो लाग्छ । अहिले प्रविधिको प्रयोग गरेर घरमै बसेर पनि अनलाइनमार्फत सेयर किनबेच गर्न सकिने अवस्था छ । 

यो सँगसँगै बजार घट्ने क्रम र बढ्ने क्रम चाहिँ चक्र हुन्छ । त्यसलाई ‘बुल’ र ‘बियरिस’ को चक्र भनेर भनिन्छ । त्यो वियरिस चक्र चाँही ४ वर्ष पार गरेको अवस्था हो अहिले । वियरिस चक्र पुरा भयो भन्ने मानिसहरुको सोचले पनि बजारमा प्रभाव पारेको हुन सक्छ ।

अब बजार धेरै घट्दैन अथवा बजार अब बढ्छ भन्ने सकारात्मक मानसिकता र आत्मविश्वासले पनि सेयर बजारमा नयाँ रेकर्ड कायम भएको हुन सक्छ । अहिलेको आत्मविश्वासले बजारलाई अझ माथि जान सहयोग पुग्न सक्छ ।

सेयर बजारमा कोरोनाको प्रभाव कति ?

कोरोना भाइरसको सङ्क्रमणका कारण अरु क्षेत्रमा आर्थिक गतिविधिहरु त कम भए । त्यसैको प्रभावले कारोबार गर्ने अथवा आर्थिक गतिविधिमा संलग्न मानिसहरुले आर्थिक उपार्जन गर्ने वैकल्पिक बाटो खोजिरहेका छन् ।

वैकल्पिक बाटोको खोजी गर्दै जाँदा उनीहरुले सेयर बजारमा सम्भावना देखे । हातमा भएको पैसालाई कहाँ लगेर लगानी गरौँ भन्ने भैरहेको समयमा उनीहरु सेयर बजारमा आएको देखिन्छ । कोरोनाले सबै आर्थिक क्षेत्रमा असर परिरहेको समयमा अलिकति भएको रकमलाई सेयर बजारमा लगानी गरौँ न त भनेर पनि उनीहरु सेयर बजारमा आकर्षित भएको पाइन्छ । 

सेयर बजारमा सकारात्मक प्रभाव 

अरु क्षेत्रमा आर्थिक गतिविधि कम हुनेबित्तिकै अल्पकालीन रुपमा प्रवेश गर्ने साथीहरु अलि धेरै हुनुहुन्छ । जसले सेयर बजारलाई परीक्षण गर्दै अवसरहरु लिनु भएको छ । सँगसँगै वियरिस चक्रहरु पनि पूरा भैसकेको अवस्था छ । प्रविधिले सहजता ल्याएको छ ।

सेयरमा लगानी गर्नका लागि पहिले ऋण पाइँदैन थियो, अहिले सेयर ऋण पनि सहजै सस्तो पाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुले राम्रोसँग लगानी गर्न सक्नेहरुलाई बोलाएर ऋण दिइरहेका छन् । पहिलेजस्तो ब्रोकर कहाँ गएर लामो समयसम्म बसेर भुक्तानी लिन दिन अथवा सेयर कारोबार गर्न गाह्राे छैन । 

घरमै अथवा कतै बसेर सहजै रुपमा किनबेच गर्न सकिन्छ । यिनै कुराहरुले सेयर बजारमा प्रभाव पारिरहेको छ । प्राथमिक बजारमा आईपीओ निस्कासनमा पनि पहिलेजस्तो एक/दुई महिना लाग्दैन । अहिले २/४ दिनमै सेयर बाँडफाँड हुने गरेको छ । यस्ता सुधारहरु जुन भैरहेको छ, बजारमा यसले पनि मानिसहरु सेयर कारोबारप्रति आकर्षित गरिरहेको जस्तो लाग्छ ।

रेकर्ड कायमै राख्न के गर्नुपर्छ ?

गएको फागुनमा एकैचोटी माथि गएको बजार घट्दै फेरि बढ्न थालेको छ । पैसाको सहज उपलब्धता र प्रविधिमैत्री हुँदै गर्दा यो बजार अझै अघि बढिरहने मात्रै हो कि अथवा के हुन्छ भन्ने कुरा सबैमा छ । वास्तविक रुपमा यसको कारोबार कसरी अघि बढ्छ भन्नेबारे आजको मूल्याङ्कनले पुग्दैन । 

अबको जुन दिन कारोबार हुन्छ, त्यो समयमा किनबेच गर्ने साथीहरुको मानसिकताले अर्थात् त्यही कारोबार गरिरहेको समयमा पनि कुनै सानो खबरले बजारमा प्रभाव पार्न सक्छ । आपूर्ति र मूल्य तलमाथि हुन सक्छ । मूल्य तलमाथि हुनेबित्तिकै बजार र परिसूचक तलमाथि हुन सक्छ । बजारमा जो छिर्नुभएको छ, उहाँहरुलाई पनि यहीँ राखिराख्ने र बजारलाई अझै राम्रो होस् र धेरै नघटोस् भन्नका लागि अहिलेकै जस्तो पैसा सहजै रुपमा उपलब्ध हुनुपर्यो। 

बजारमा कारोबार गर्दा लाग्ने लागत जस्तै दलालको कमिशन, नेप्सेको कमिशनहरु त्यसमा पुनरावलोकन गर्नुपर्यो । सेयरहरु जति समयमा आउनुपर्ने हो, त्यो समयमा आउनुपर्यो । मान्छेलाई यहाँबाट सजिलै आर्थिक उपार्जन गर्न सक्छु, केही लगानी गर्यो भने सजिलै उपार्जन गर्न सक्छ भन्ने ग्यारेण्टी भयो भने रेकर्ड कायमै राख्न सकिन्छ । लगानीकर्ताको मनोबल बढाउन सकिन्छ ।

अबका दिनमा सेयर बजारको कारोबार कस्तो रहन्छ ?

आर्थिक परिसूचक अथवा हाम्रा आर्थिक तथ्यांकहरु हेर्ने हो भने हाम्रो अर्थतन्त्र त्यति सकारात्मक अर्थात राम्रो देखिँदैन । त्यति हुँदै गर्दा पनि अरु क्षेत्रमा विकल्प राम्रो हुनेबित्तिकै अल्पकालीन रुपमा बजार प्रवेश गर्नुभएका साथीहरु पक्कै पनि निक्लनुहुनेछ । त्यसबेला बजारमा दबाब आउन सक्छ ।

हाम्रा सूचीकृत कम्पनीहरुका आर्थिक वित्तीय विवरणहरु जस्तै लाभांस क्षमता, मुनाफाहरु राम्रो हुँदै गयो भने बजारले पक्कै पनि सकारात्मक रुपले लिन्छ । सूचीकृत कम्पनीहरुका वित्तीय सूचकहरु जस्तै लाभांश र मुनाफाहरु कम आउने भयो भने त लगानीकर्ताहरु पछि हट्न सक्छन् ।

प्राविधिक विश्लेषणले बजार यतिसम्म पुग्न सक्छ भनेर अनुमान गर्न त सक्ला, तर साँच्चिकै बजार घट्छ अथवा घट्छ भनेर ठोकुवा गरेर भन्ने सकिने अवस्था भने रहँदैन ।
(सेयर कारोबारका जानकार दिलीप मुनकर्मीसँग टेकमान शाक्यले गर्नुभएको कुराकानीमा आधारित)
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

दिलिप मुनंकर्मी

मुनंकर्मी फ्रिलान्स कम्युनिकेसन कन्सल्ट्यान्ट हुन् ।

तपाईको प्रतिक्रिया