फेरि सुरु भयोे माउण्टेन फ्लाइट, एउटा टिकट किन्दा अर्को सित्तैमा

 मंसिर १४, २०७७ आइतबार १६:३५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान अर्थात् माउन्टेन फ्लाइट फेरि सुरु भएको छ ।

कोरोना भाइरसको महामारीका कारण गएको चैतदेखि बन्द रहेको माउण्टेन फ्लाइट बुद्ध एअरले शनिबारदेखि सुरु गरेको छ भने यति एअरले २० गतेदेखि सुरु गर्ने जनाएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उडान सञ्चालन गरिएको एअरलाइन्सले जनाएका छन् ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी बुद्धले आकर्षक छुट तथा अफरसहित एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरिएको बताउनुभयो । ‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने मूल नाराका साथै माउण्टेन फ्लाइट गर्न लागेको यतीले नेपाली यात्रुहरु र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय नागरिकका लागि छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

यती एअरलाइन्सले नेपाली यात्रुका लागि आठ हजार ९ सय ९९ रुपैयाँ र नेपालमा बसोबास गर्ने वा काम गर्ने विदेशी तथा भारतीय यात्रुका लागि १३ हजार ४ सय ९९ रुपैयाँमा दुईवटा टिकट दिने जनाएको छ । यस अन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दा सँगै रहेको सिटको अर्को टिकट निःशुल्क प्राप्त गर्नेछन् ।

कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सव मनाउने क्रममा यात्रुहरुका लागि विभिन्न प्याकेज र अफरहरु घोषणा गर्दै आएको एअरलाइन्सले माउण्टेन फ्लाईटको लागी समेत अहिलेसम्मकै सस्तो र आकर्षक प्याकेज ल्याएको बताएको छ ।

माउण्टेन फ्लाइट काठमाण्डाैबाट आवतजावत गरी एक घण्टाको हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजङ्घा हिमाल नजिक पुगेर पुनःकाठमाण्डाैमा अवतरण हुन्छ । बुद्ध एयर, यती एयरलाइन्स र सिम्रिक एयरलाइन्सले माउण्टेन फ्लाइट गर्दै आएका छन् ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया