एक दिने नेपाल भ्रमण सकेर चीनका रक्षामन्त्री पाकिस्तान गए

 मंसिर १४, २०७७ आइतबार १९:२९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल भ्रमणमा आएका चीनका रक्षामन्त्री वेइ फेङहे पाकिस्तान जानुभएको छ । केहिबेर अघि उहाँ पाकिस्तान जानुभएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

बिहान १० बजे काठमाण्डौ आएका उहाँ दिनभरि भेटवार्तामा व्यस्त हुनुभयो । साँझ उहाँले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटरामा प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गर्नु भयो । उहाँहरुबीच दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले सन् २०१६ मा चीन भ्रमणका क्रममा आफूले गरेको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय सम्झौता कार्यान्वयनका क्रममा रहेको जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले गएको वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी जिङ पिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउनुभएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभयो ।

जवाफमा चिनियाँ रक्षामन्त्री फेङहेले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्ना तर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो देशको सम्बन्धलाई जोड्न नहुने बताउनुभएको थियो ।

यस अघि चीनका रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नु भएको थियो । त्यहाँ उहाँले सेनाले दिएको सम्मान गारद ग्रहण गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया