अज्ञात समूहको आक्रमणमा परेर पूर्व उप–प्रधानपञ्चको निधन

 मंसिर १६, २०७७ मंगलबार १०:५४:४४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – अज्ञात समूहको आक्रमणमा परि घाइते भएका साबिक रुकुमको जाङ गाविसका पूर्व उप-प्रधानपञ्च रणबहादुर घर्तीको निधन भएको छ । 

रुकुम पूर्वको पृथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ७ खारखोला निवासी ७४ वर्षीय घर्तीको सोमबार राति काठमाण्डौमा उपचारको क्रममा निधन भएको हो । 

गएको कार्तिक २९ गते घरमै बसेको समयमा ३ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले उहाँमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर गम्भीर घाइते हुनुभएका घर्तीलाई उपचारको लागि जिल्ला अस्पताल रुकुम पूर्व, दांग, नेपालगञ्ज हुँदै काठमाण्डौ पुर्याइएको थियो ।

घरमै रहेको अवस्थामा आक्रमणकारीहरुले फलामको घन, लाठी, हम्बरले आक्रमण गरेको परिवारका सदस्यहरुले बताएका छन् । आक्रमणमा परेर घर्तीका श्रीमती र छोरी समेत घाइते भएका थिए । रोइकराई गरेपछि बुवालाई घाइते अवस्थामै आक्रमणकारीहरुले छोडेर भागेको रणबहादुरको छोरी लक्ष्मी घर्तीले बताउनुभयो ।  

आक्रमणमा संलग्न भएको भन्दै पीडितले तीन जना व्यक्ति बिरुद्ध किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले किटानी जाहेरीमा परेकाहरु फरार रहेको उनीहरुको खोजिकार्य भैरहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया