भत्ताकाे रकम महिलाकाे हातबाट थुतेर भागे, सीसीटीभी क्यामेराकाे सहायतामा पक्राउ

 मंसिर १६, २०७७ मंगलबार १६:५५:१४ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुराको सदरमुकाम मार्तडीमा गएको बुधबार दिउँसो बैंक अगाडिबाट एक जना महिलाले बुझेको अपाङ्ग भत्ताबापतकाे रकम थुतेर भाग्ने युवक पक्राउ परेका छन् ।

गएको बुधबार दिउँसो राष्ट्रिय वाणिज्य बैंकबाट अपाङ्ग भत्ता बुझेर गेटमा पैसा गनिरहेकी महिलाको हातबाट थुतेर फरार रहेका युवकलाई उनकै घरबाट पक्राउ गरिएको बाजुराका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मदनजित महराले बताउनुभयो ।  

बडीमालिका नगरपालिका ९ का गोपाल विक पक्राउ परेका हुन् । गोपालले छोरीको अपाङ्ग भत्ता बुझ्न आएकी बडीमालिका १ की भना कार्कीको हातबाट पैसा थुतेर भागेको र बैंकको सीसी क्यामराको सहयोगमा उनी पक्राउ परेको डीएसपी महराले जानकारी दिनुभयो ।  

ती महिलाले भत्ताबापतको आठ हजार रुपैयाँ बुझेर गनिरहेको र त्यो पैसा थुतेर लगेको सीसीटीभी क्यामरामा देखिएको भिडिओकोे आधारमा युवकलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती युवकसँग संलग्न गैरी बजारका प्रकाश विक पनि पक्राउ गरेका छन् । 

गोपाल घर पुग्ने बित्तिकै चोरेर लिएको पैसा आफन्तको जिम्मा लगाएको र हुलिया परिवर्तन गर्न खोज्दा पक्राउ परेको प्रहरीले जनाएको छ । ती युवकले यसअघि पनी धेरै ठाउँमा चोरी गरेको उजुरी आएको प्रहरीले जनाएको छ । 

बाजुरामा केही महिना यता चोरीमा संलग्न ७० जनाभन्दा बढीलाई पक्राउ गरी आवश्यक कारबाहीको दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया