चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाबाट नमुना सङ्कलन गर्‍याे

 मंसिर १८, २०७७ बिहीबार १५:१०:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाबाट नमुना सङ्कलन गरेको छ । मङ्गलबार चन्द्रमा अवतरण गरेको मानवरहित चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाको सतहबाट नमुना सङ्कलन गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनको भनाइ उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीन सरकारले ‘चाङ्गे ५’ नाम दिएको यान मङ्गलबार राति ११ बजे चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको थियो । यानले चन्द्रमामा अवतरण गर्ने क्रममा सफलतापूर्वक आफ्ना सौर्य प्यानल फहराएको थियो, जसबाट यानलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन्छ ।

हैनान प्रान्तमा रहेको हैनान अन्तरिक्ष केन्द्रबाट यो यान गएको नोभेम्बेर २४ मा प्रक्षेपण गरिएको थियो । यो यान चिनियाँ अन्तरिक्ष कार्यक्रमको एउटा महत्त्वाकाङ्क्षी परियोजना रहेको खबरमा उल्लेख छ ।

चन्द्रमा पुगेको यान दुई दिनसम्म चन्द्रमाको सतहमा रहनेछ र त्यहाँबाट दुई किलोग्राम ढुङ्गा र अन्य पदार्थ सङ्कलन गर्नेछ । यो यान यही डिसेम्बर महिनाको मध्यतिर उत्तरी चीनमा अवतरण गर्ने चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । यदि यो उडान सफल भएमा सन् १९७७ पछि पहिलोपटक पृथ्वीमा चन्द्रमाको सहतबाट नयाँ नमुना प्राप्त हुनेछ ।

यी नमुनालाई अनुसन्धानका लागि अरु देशका वैज्ञानिकलाई पनि उपलब्ध गराइने चीनले यसअघि नै जनाइसकेको छ । चीनको यो सफलताका लागि अमेरिकी र रुसी अन्तरिक्ष कार्यक्रमका अधिकारीहरुले बधाई दिएका छन् ।

पृथ्वीमा यसअघि सोभियत रुसको अन्तरिक्ष अभियानबाट सन् १९७६ मा चन्द्रमाबाट ढुङ्गा ल्याइएको थियो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया