कोशी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना, हिमाली भे...
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – पूर्व शिक्षामन्त्री गङ्गालाल तुलाधरले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगकै सदस्यहरूले आफूखुसी सार्वजनिक गर्न नमिल्ने टिप्पणी गर्नुभएको छ ।
आयोगले प्रतिवेदन सरकारलाई बुझाइ सकेपछि आयोगको प्रयोजन नै समाप्त भएको अवस्थामा आयोगमा रहेका केही सदस्यहरूले प्रतिवेदन सार्वजनिक गर्न स्वतन्त्र नभएको बताउनुभएको हो । आयोगका अधिकांश सदस्यहरूले आज (शुक्रबार) प्रतिवेदन सार्वजनिक गरेपछि आयोगका सदस्यसमेत रहनुभएका तुलाधरले यस्तो टिप्पणी गर्नुभएको हो ।
शुक्रबार न्युज एजेन्सीसँग कुराकानी गर्दै पूर्वमन्त्री तुलाधरले सरकारले आफ्नो प्रयोजनको निम्ति आयोग बनाएको र आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि आयोगको प्रयोजन नै समाप्त भइसकेको बताउनुभयो । आयोगले दिएको प्रतिवेदन सरकारले जस्ताको त्यस्तै लागू नगर्न पनि सक्ने उहाँको भनाइ छ ।
प्रतिवेदन आर्थिक व्ययभार बढाउने, जनशक्तिका प्रश्नहरू र अन्य किसिमका समस्यालाई हेरेर सरकारले सार्वजनिक गर्ने विषय भएको उहाँले बताउनुभयो । सरकारले चार सय ९८ पृष्ठ लामो प्रतिवेदन बाहिर सार्वजनिक नगरे पनि गएकाे वर्ष ८४ पेज लामो सारांश सार्वजनिक गरिसकेको र त्यसलाई राष्ट्रिय शिक्षा नीतिको मूल दस्तावेजको भावनामा समेटेर सार्वजनिक भएको मान्नुपर्ने उहाँकाे भनाइ छ ।
त्यो कुरामा पनि सरकार इमानदार नभएको भए विरोध गर्न पाइने तर आफूखुसी सदस्यहरूले प्रतिवेदन सार्वजनिक गर्ने कुरा उपयुक्त नभएको उहाँले बताउनुभयो । सरकारले प्रतिवेदन सार्वजनिक नगरेर गल्ती गरेको छ भन्दैमा सदस्यहरूले आफै सार्वजनिक गरेर अर्को गल्ती नगरेको भए राम्रो हुने तुलाधरको भनाइ छ ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगका अधिकांश सदस्यहरूले शुक्रबार सार्वजनिक गरेका हुन् । २०७५ असार २४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले २०७५ पुस २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।