सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – धनुषा जिल्लाकाे धनुषाधाम विद्युत् चोरीमुक्त नगरपालिका घोषणा भएको छ । धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत् प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिकाका मेयर बालेश्वर मण्डलले शनिवार धनुषाधाममा आयोजित कार्यक्रममा नगरपालिकालाई विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गर्नुभएको हो । कार्यक्रममा धनुषाधाम नगरपालिका क्षेत्रमा बसोवास गर्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरिएको छ ।
ऊर्जामापक यन्त्र (मिटर) मार्फत बाहेक विद्युत्को अन्य लाइनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विद्युत्को लाइन तानेमा वा जडान गर्ने (हुकिङ), मिटरलाई छली विद्युत् प्रयोग गर्ने, मिटर तोडी, नासी, बिगारी वा अन्य कुनै किसिमले क्षति पुर्याउने वा सामान्य परिचालन हुन नसक्ने गरी असक्षम बनाउले लगायतका कार्य गरेमा विद्युत् चोरीको कसूर गरेको मानिने कानूनी व्यवस्था छ । चोरीमार्फत अनधिकृत र असुरक्षित रूपमा विद्युत्को प्रयोग गर्दा हरेक वर्ष धनजनको क्षति हुने गरेको छ ।
प्राधिकरणले विद्युत्को पहुँच विस्तार र अनधिकृत रूपमा हुने विद्युत् प्रयोगलाई रोक्न मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ । देशभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत प्राधिकरणले विपन्न वर्गलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गर्दै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्ड अनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिङ्गल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन ।
धनुषाधामले आफ्नै प्रयास र पहलमा विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरी ठूलो चुनौती लिएको उल्लेख गर्दै कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत् चोरी सामाजिक अपराध भएकाले यसको नियन्त्रणका लागि प्राधिकरणले गर्नुपर्ने प्राविधिक कामहरूलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाइएको बताउनुभयो ।
घिसिङले विद्युत् नै नपुगेका ठाउँहरूको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोवास गरिरहेका नागरिकलाई विद्युत् पुर्याउन पहाडको टुप्पोदेखि मधेशका फाँट, कर्णाली र सुदूरपश्चिमका विकट बस्तीहरूमा विद्युतीकरणको अन्तिम चरणका कामहरू चलिरहेको बताउनुभयो ।
‘उज्यालो अभियानअन्तर्गत देशभित्र विद्युत् खपत बढाउन विद्युत् पुगेका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन र नपुगेका विकट ठाउँमा विद्युत् पुर्याउन प्राथमिकताका साथ काम गरिरहेका छौँ, कर्मचारीलाई तलब नखुवाएरै भए पनि घरघरमा विद्युत् पुर्याउने छौँ’, घिसिङले भन्नुभयो, ‘नेपालको खाद्यान्य भण्डारका रूपमा रहेको तराईका खेतखेतमा विद्युत् पुर्याएर सिँचाइमार्फत उब्जनी र उत्पादकत्व बढाउनुपर्छ, यसका लागि स्थानीय तहहरूसँगको सहकार्यमा सिँचाइको विद्युतीकरण अगाडि बढाएका छौँ ।’
उहाँले कृषि र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लाहरूमा विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरणका लागि झन्डै ४० अर्ब रुपैयाँ लगानीका विभिन्न आयोजनाहरूको काम भइरहेको उल्लेख गर्नुभयो ।
सिँचाइ र गार्हस्थ्यतर्फको विद्युतीकरणमा धेरै काम भएको उल्लेख गर्दै धनुषाधाम नगरपालिकाका मेयर मण्डलले खाना पकाउने ग्याँसलाई विस्थापित गर्न विद्युतीय चुलोमा अनुदानको व्यवस्था गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा विद्युत् चोरी सामाजिक अपराध भएको सन्देश दिने नाटक पनि प्रस्तुत गरिएको थियो ।
मधेश प्रदेशमा चालू आर्थिक वर्ष २०८१/८२ को पुससम्ममा वितरणतर्फको विद्युत् चुहावट १४.२० प्रतिशत छ । चालू आवमा मधेश प्रदेशको विद्युत् चुहावट ११.९ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसूल बक्यौता असूलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको छ ।
प्राधिकरणले आफ्ना हरेक वितरण केन्द्रहरूलाई प्रत्येक वर्ष चुहावट नियन्त्रणको लक्ष्य दिई त्यहीअनुसार क्रियाकलापहरू सञ्चालन गरिरहेको छ । प्राधिकरणले गएकाे आवमा प्रणालीको विद्युत् चुहावट झन्डै १२.७३ प्रतिशतमा झारेको थियो । आठ वर्ष अघिसम्म प्रणालीबाट २५.७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।