‘पर्फ्युम’ बेच्ने कामदेखि औषधि कम्पनीको ‘क्वालिटी कन्ट्रोलर’सम्म

 मंसिर २१, २०७७ आइतबार १३:४९:५६ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

अमृता सिग्देल, काठमाण्डौ/हाल यूएई ।

जिन्दगीको यात्रामा अनेक घुम्तीहरु आउँछन् । तिनै घुम्तीमध्येको एक थियो १२ वर्ष पहिलेको मेरो यूएई यात्रा । म यहाँ एउटा सामान्य रोजगारीको लागि आएकी थिएँ । काम थियो, पर्फ्युम बेच्ने ।

ग्राहकलाई बोलाई बोलाई पर्फ्युम बेच्नुपथ्र्यो । तर आज समयले फड्को मारिसक्यो । एउटा सामान्य कामदारको रुपमा पाइला टेकेको यस भूमिमा म अहिले औषधि वितरण गर्ने एक बहुप्रतिष्ठित कम्पनीमा ‘क्वालिटी कन्ट्रोल म्यानेजर’को रुपमा काम गर्छु । सामान्य रुपमा मैले गर्ने कामलाई बुझ्दा म कार्यरत कम्पनीको औषधिहरुबारे डाक्टरहरुलाई प्रेस्क्रिप्सनको लागि रेफर गर्ने, डोजेजहरुको लागि भन्ने, औधषिको बारेमा डाक्टरहरुलाई ब्रिफिङ गर्ने हो । 

मैले पर्फ्युम बेच्ने काम दुई वर्षसम्म गरेँ । तर त्यो बेला नै मलाई थाहा थियो मेरो यात्रा लामो छ भनेर । किनकी मैले नेपालबाट यूएई आउनको लागि त्यो कामलाई माध्यम मात्र बनाएको थिएँ । त्यसपछि मैले जागिरको लागि अनलाइनमार्फत अप्लाई गर्न लागेँ । अहिलेको यो मेरो तेस्रो कम्पनी हो । यो भन्दा पहिले मैले दोस्रो कम्पनीको रुपमा मेडिकल क्षेत्रकै एक भारतीय कम्पनीमा काम गरेँ । त्यहाँ पनि दुई वर्ष काम गरेँ । त्यसपछि म सन् २०१३ मा अहिलेको कम्पनीमा आएको हुँ । त्यतिबेला मैले मेडिकल रेप्रिजेन्टेटिभको रुपमा काम थालेको थिएँ । यो कम्पनीमा पनि मेरो तीन पटक प्रमोशन भयो र अहिले ‘क्लालिटी कन्ट्रोल म्यानेजर’को रुपमा काम गर्छु ।

यो पेशामा आबुधाबीमा सायद महिला म मात्र छु । मैले यो कम्पनीमा राम्रो सेल्स गरेँ । भनौं मैले आफूलाई एकदमै छिटो ‘ग्रोथ’ गरेँ । जसले मलाई यो कम्पनीमा कामको बारेमा तालिम दिएका थिए, जो यो कम्पनीमा १७ वर्ष काम गरिरहेका थिए, उनीहरुलाई नै  कन्ट्रोल गर्ने भएकी थिएँ ८ महिनामा ।

मेरो मेहनत र लगनशिलताले नै म आठ महिनामै सुपरभाइजर भएकी थिएँ । मलाई जसरी पनि आफ्नो काममा पोख्त हुनु थियो । त्यसका लागि मैले मेहनत गरेँ । आफू मेहनत गर्थें अनि त्यसअनुसार बढुवा हुनुपर्छ भनेर कम्पनीमा पनि आफ्नो आवाज उठाउँथें ।

कम्पनीले ड्राइभिङ लाइसेन्स लिएमा मेरो थप बढुवा गरिदिने प्रस्ताव ल्यायो । त्यतिबेला मेरो तीन महिनाको तलब जति खर्च लाग्थ्यो लाइसेन्स पाउन । त्यसपछि मैले डटेर लागेँ र लाइसेन्स पाएँ । यहाँ लाइसेन्स लिन सजिलो छैन । नेपालको मास्टर्स डिग्री गरेभन्दा पनि गाह्रो हुँदो रहेछ यूएईको लाइसेन्स पाउन । तर मेरो मेहनत अनुसारको फल पनि मिल्यो । लाइसेन्स पनि पाएँ । अनि लाइसेन्स पाए लगत्तै कम्पनीले मेरो तलबमा पनि १ हजार दिर्हाम बढाइदियो ।

मैले नेपालबाटै विज्ञान विषय लिएर स्नातकोत्तर (मास्टर्स) गरेर आएकी थिएँ । तर यहाँ मभन्दा कम पढेका १० पास मात्र गरेकाले पनि मैले भन्दा धेरै कमाइरहेका हुन्थे । यसले गर्दा मलाई नराम्रो लाग्थ्यो । मेरो प्रमाणपत्रको के काम भन्ने लाग्थ्यो । मैले अंग्रेजी बोलेको सुनेर पनि धेरै कस्तो राम्रो बालेको भन्थे । मेरो मतलब म आफू सक्षम थिएँ । त्यसकारणले पनि सोध्ने मानिस हरेकलाई भन्थें – म साइन्समा मास्टर्स गरेर आएको हुँ ।

किनकी मलाई अवसर चाहिएको थियो । पर्फ्युम कम्पनीबाट अर्को कम्पनीमा जाने बेलासम्म करिब २० वटा कम्पनीमा अन्तर्वार्ता दिएँ । तर रिजेक्ट कतैबाट पनि भइनँ । बरु मैले अन्तर्वार्ता दिन गएको कम्पनीमा ‘यू आर ओभर क्वालिफाइड’ भनेर काममा नराखेको उदाहरण पनि छन् । बैंकदेखि हरेक कम्पनीमा मैले अप्लाई गरेँ । जबसम्म मेरो क्षमता अनुसारको अवसर पाइनँ, तबसम्म मैले काम खोजी नै रहेँ ।

अझै पनि यहाँ नेपालीहरु सबै सिधासाधा र कम पढेलेखेका हुन्छन् भन्ने सोच्छन् । म यो पदमा रहेर काम गरेको देख्दा कतिपय डाक्टरले मलाई भारतीय नागरिक भन्ने ठान्दा रहेछन् । म नेपाली हो भनेर परिचय दिँदा उनीहरु अचम्म मान्छन् । 

नयाँ परिवेशमा ढाल्न गाह्रो हुन्छ

सुरु सुरुमा नयाँ परिवेशमा ढाल्नको लागि केही समस्या त हुन्छ नै । दुई, चार महिना त आफूलाई यो परिवेशमा ढाल्ने लाग्यो । बिस्तारै आफूले केही बन्नुछ, आफूले आफैंलाई भेटाउनुछ भन्ने लाग्यो । त्यही क्रममा जे जे पर्दै गयो, त्यो भोग्दै आएँ र अहिलेको अवस्थामा आइपुगेँ । 

नेपालमा मानिसले बुझ्ने गरेको यूएई र वास्तवमै यूएईमा आकास पातालको फरक छ । यहाँ महिलालाई सुरक्षा छैन, हेपिन्छन् भन्छन् । तर मलाई लाग्छ नेपालको तुलनामा यहाँ महिला शतप्रतिसत सुरक्षित छन् । एउटै कुरा भनेको आफू आत्मविश्वासी हुनुपर्यो, नराम्रो कुरा गर्नु भएन । आफूले राम्रो गरेपछि कुरा काट्नेका पनि मुख बन्द हुन्छ । त्यसको लागि परिवारबाट पनि सहयोग मिल्नुपर्यो । 

यो देशमा महिलाको लागि कानुन छ । तर यहाँ महिला हिँसा नै हुँदैन भन्ने होइन । राम्रो जागिर लगाइदिनेदेखि प्रमोशन गर्ने जस्ता विभिन्न प्रलोभनमा पारेर यौन दुव्र्यवहार गर्ने लगायतका कुराहरु भएका घटना पनि सुनिन्छन् । यस्तो भएको खण्डमा कहाँ उजुरी दिने, कसलाई भन्ने जानकारी आफूलाई हुनुपर्छ । यस्ता विभिन्न समस्यामा पर्नुभएका नेपाली दिदीबहिनीहरुलाई हामीले पनि सहयोग गर्ने गरेका छौं । उनीहरुलाई न्यायको लागि दूतावाससम्म पुग्नेदेखि रोजगारदातासँग कुराकानी गर्ने तथा उद्धार गरेर नेपाल फर्काउन पहल गर्ने गरेका छौं । त्यसको लागि पीडितहरुले पनि आफ्नो समस्या उजागर गर्नुपर्छ । यस्तो समस्या त सबैलाई पर्छ भनेर सहेर बस्नु भएन । तर जसरी हातका औंला बराबर हुँदैनन् त्यसैगरी सबैलाई बराबर सुख हुन्छ भन्ने हुँदैन ।

१८ सयदेखि १८ हजार दिर्हामसम्म 

म यहाँ १८ सय दिर्हामको तलबमा आएकी हुँ । अहिले मेरो तलब १८ हजार दिर्हाम अर्थात पाँच लाख ८० हजार रुपैयाँभन्दा बढी छ । यो मेरो लागि ठूलो उपलब्धि हो । आफ्नो क्षमता र योग्यता त छँदैछ । त्योसँगै म भाग्यलाई पनि मान्छु । म जहाँ जहाँ गएँ त्यहाँ मैले भगवान जस्ता कम्पनीका मालिक भेटाएँ । मेरो पहिलो कम्पनीको बोसलाई म अहिलेसम्म पनि ‘गड फादर’ नै भन्छु ।

उहाँले मलाई लुगा लगाउनदेखि मान्छेसँग कसरी बोल्नेसम्म सबै कुरा सिकाउनुभयो । मैले दोस्रो जागिर पाउनको लागि पनि मेरो पहिलो बोसले सहयोग गर्नुभयो । कम्पनीमा तपाईंले जतिसुकै राम्रो काम गरे पनि त्यसको मूल्यांकन भएन भने गाह्रो हुन्छ । मेरो सवालमा भने मेरो कामको मूल्याङ्कन भयो । म काम गर्ने कम्पनीमा सबै अरबिक छन्, भारतीय पनि छैनन् । म एक्लै नेपाली हुँ ।

धेरै नेपाली समुदायले मलाई आबुधाबीमा पजेरो चढेर हिँड्ने महिला पनि भन्छन् । तर म जति नै माथि पुगे पनि मेरो दैनिकी सामान्य नै छ । दिनभरी अफिसको काम गर्छु र बिहान बेलुका परिवारलाई हेर्छु । दुई जना छोरोछोरी छन् । मेरो अफिसको समयमा बालबच्चाको रेखदेखको लागि मैले एक जनालाई काम दिएर राखेको छु । खुसीको कुरा के भने पहिले मैले जति तलबमा यहाँ काम गर्थें, त्यति नै तलब मैले उहाँलाई दिएर काममा राखेको छु ।

केही सीप सिकेर आउनुहोस्

यहाँ आउनुभन्दा पहिले यहाँ के कस्तो कामको अवसर छ, त्यसको बारेमा केही ज्ञान लिएर तथा सीप सिकेर आउनुपर्छ । मेरै कुरा गर्ने हो भने साइन्समा मास्टर्स गरेकी थिएँ, तर पार्लर सिकेर आएँ । यहाँ आएर पर्फ्युममा काम गरेँ । मलाई थाहा थिएन कि भविष्यमा मैले के गर्ने भन्ने कुरा । मैले पार्लर सिकेको कुरा यहाँ आएर पनि प्रयोग गरेँ । नेपाली दिदीहरुकोमा गएर फेसियल गर्नेदेखि हेयर स्ट्रेट गर्ने कामहरु गरेँ । 

यो काम पनि मैले समय मिलाएर एक डेढ वर्षसम्म गरेँ । यदि धेरै पढेको छैन भने पनि आफूले काम गर्न जाने जस्तो काम भए पनि राम्रोसँग सिकेर आउनुहोस् । भाग्य पनि चाहिन्छ, तर भाग्य छ भन्दैमा सबै कुरा हुँदैन । त्यसको लागि आफू योग्य पनि हुनुपर्छ । काम गर्ने भनेर आउने भइसकेपछि केही न केही सीप सिकेर आउनुहोस् भन्न चाहन्छु । सक्यो भने भाषा सिकेर आउन सकिन्छ । सकिन्छ भने अरबिक भाषाको किताब पाइन्छ, त्यो अध्ययन गरेर र केही भाषा सिकेर आयो भने यहाँ सजिलो हुन्छ । मैले पनि यो किताब पढेर आएकी थिएँ । त्यसमा सिकेका शब्दहरुले मलाई यहाँ ‘कम्युनिकेट’ गर्न निकै मद्दत पुर्याएको थियो ।

यूएई अवसरको भण्डार हो, तर त्यसको लागि अवसर खोजिरहनुपर्छ । तपाईं एउटै कम्पनीमा सन्तुष्ट हुनुभयो भने अगाडि बढ्न सक्नुहुन्न । यदि यो कम्पनीमा केही बढोत्तरी हुनेवाला छैन भन्ने लाग्यो भने अर्को अवसर हेरिराख्नुपर्छ । आफूले सिकेको कुरालाई व्यवहारमा लागू गरी रहनुपर्यो । साथमा आत्मविश्वास पनि चाहिन्छ । यस्तो भएको खण्डमा म यसो गर्न सक्छु भन्ने आत्मबल लिएर आउनुपर्यो । यसरी आयो भने दुःख भन्ने केही हुँदैन । 

(कार्यक्रम देश परदेशका लागि उमाकान्त पाण्डेले गर्नुभएको कुराकानीमा आधारित ।)
 

         


 

अन्तिम अपडेट: भदौ ३, २०७८

1 Comments

  • indra magar

    Dec. 10, 2020, 1:51 a.m.

    सार्है खुसि लाग्याे उहाँकाे संघर्ष र सफलताकाे विषयमा पढेर , मान्छेहरु भन्छन् खाँडिमा केही छैन कमाई हुँदैन भनेर तर आफुमा सीप , पढाई र हेमनत छ भने युराेपमा भन्दा राम्रो कमाई र मानसम्मान पाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण हाे याे 😊🙏, यसरीनै सधैँ नेपाल र नेपालीकाे नाम राख्नुहाेला धन्यवाद !! जय नेपाल🇳🇵 हाल कुवेत देखि

  •  0 Reply

तपाईको प्रतिक्रिया