बराहपोखरीकाे जग्गा अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउन अन्तिम समयसीमा

 मंसिर २५, २०७७ बिहीबार १९:३८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी

खोटाङ – खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर–टहरा हटाउनका लागि गाउँपालिकाले अन्तिम पटक समय दिएको छ ।

बराहपोखरी गाउँपालिका १ बराहपोखरीमा रहेको शङ्खेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा हटाउनका लागि तीन पटक दिइएको समयलाई स्थानीयले बेवास्ता गरेपछि गाउँपालिका यसप्रति आक्रामक बनेको हो । गएको मङ्सिर १८ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार १० दिनको अवधि दिएर मङ्सिर २१ गते २७ व्यक्तिको नामावलीसहित अन्तिम पटक सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।   

बराहपोखरीका सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका व्यक्तिलाई घर–टहरा हटाउन २०७५ साल असोज ८ गते, २०७५ साल चैत ४ गते र २०७६ साल मङ्सिर ३० गते सूचना प्रकाशन गरी अनुरोध गरिए पनि अटेर गरिएकाले घर–टहरा हटाउन अन्तिम पटक सूचना प्रकाशन गरिएको गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो । नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश बराहपोखरीको जग्गा अतिक्रमण गरेर बसिरहेकाको नाममा गाउँपालिकाले सूचना जारी गरेको हो ।  

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा (२) को खण्ड (क) को देहाय २ (ट) मा अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण, रोकथाम तथा नियन्त्रण गर्ने अधिकार गाउँपालिकामा निहित रहेअनुसार बराहपोखरीको शङ्खेश्वरमन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा खाली गर्दै संरक्षण गर्ने अभियान चालिएको हो । सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा तोकिएको समयभित्र नहटाइए स्थानीय प्रशासनको साथ लिएर बल प्रयोग गरेर हटाइने गाउँपालिकाको सूचनामा उल्लेख छ । 

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको पर्यटन प्रवर्द्धन​का लागि डीपीआर तयार पारेर योजनाबद्ध ढङ्गले लागेको गाउँपालिकाले बराहपोखरी शङ्खेश्वर मन्दिर गुठी तथा त्यस आसपासका जग्गामा बनाइएका घर–टहरा बाधकका रुपमा देखिएपछि हटाउने अभियान थालिएको हो । पालिकालाई सुन्दर र व्यवस्थित बनाउँदै सार्वजनिक सम्पत्तिको रक्षाका लागि मापदण्ड विपरीतका घर तथा टहरा हटाउने अभियान चलाइएको गाउँपालिका अध्यक्ष बञ्जराले बताउनुभयो ।    

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया