बालबालिकामा अनलाइन कक्षाको प्रभाव : अनेक फाइदा र बेफाइदा

 मंसिर २६, २०७७ शुक्रबार १६:५:२८ | डिल्लीराम पाण्डेय (रामु)
unn.prixa.net

काठमाण्डाै – कोरोना महामारीका कारण धेरै मानिस घरमै बस्न र घरबाटै अनलाइनमार्फत काम गर्न बाध्य छन् । कोरोना सङ्क्रमणको जोखिम अझै घटेको छैन । सरकारले पालिकालाई आफ्नो क्षेत्रमा कोरोना प्रभावको आधारमा विद्यालय खोल्न सक्ने अधिकार दिएको छ । त्यसैअनुसार कतै विद्यालय खुल्न थालेका छन् । तर कोरोनाको 'हटस्पट' रहेका र जोखिम कायमै रहेका सहरी क्षेत्रका धेरै विद्यालय अहिले पनि खुल्न सकेका छैनन् ।

धेरैले अनलाइनको माध्यमबाट कक्षा सञ्चालन गरिरहेका छन् । ग्रामीण भेगका धेरै विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न सक्ने गरी सञ्चार तथा प्राविधिक क्षमताको विकास नहुँदा भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिरहेका छन् ।

घरमै बस्न वा घरबाटै अनलाइनमार्फत काम गर्न बाध्य बनिरहेको यो बेला मोबाइल फोन तथा ल्यापटपलगायतका ग्याजेटको प्रयोग व्यापक बनिरहेको छ । एकातिर यो बाध्यता छ भने अर्कोतिर लत पनि बनिसकेको अवस्था छ । 

अनलाइनकाे फाइदा :

प्रविधिको प्रयोग र सिर्जनशीलताकाे विकास 

अनलाइन माध्यममा बालबालिका घुलमिल बन्न थालेका छन् । प्रविधिको प्रयोग बढ्दो छ । त्यस्तै बालबालिकाहरूको केही घण्टाको अनलाइन कक्षा र होमवर्क बाहेकको समय बचत हुँदा बालबालिकाको अन्तर्निहित क्षमताको प्रस्फुटनको अवसर प्राप्त भएको छ । हरेक बालबालिकामा केही न केही क्षमताहरु रहेका हुन्छन् । तर आवश्यक वातावरणको अभावमा ती प्रतिभाको उजागर हुन पाइरहेको हुँदैन ।

अहिलेका विद्यालयहरु धेरै समय किताबी ज्ञानमा नै सीमित गर्न चाहिरहेका हुन्छन् । अहिले एकातिर समय छ भने अर्कोतर्फ आफ्नो प्रतिभा देखाउने अनलाइन माध्यम छ । यसबाटै केही बालबालिकाहरूले वाहवाही पाइरहेका छन् । आफ्नो प्रतिभा अन्तर्राष्ट्रिय रुपमा चिनाउन सक्ने अवसर बालबालिकाले पाइरहेका छन् । यसमा अभिभावकको साथ र सहयोगको आवश्यकता भने अवश्य पनि छ । 

अभिभावकको खर्च कटौती 

वर्तमान समयमा बालबालिकाहरु विद्यालय जान नपर्दा अभिभावकले तिर्ने शुल्कमा थोरै भए पनि कमी आएको छ । बस भाडा, खेलकुद शुल्क, पुस्तकालय शुल्क, खाजा खर्च, भ्रमण खर्च लगायतका खर्चमा कटौती भएको छ । 

अनावश्यक घुमघाममा नियन्त्रण 

धेरै किशोर–किशोरी साथीहरूसँग अलि बढी घुमघाममा समय व्यतित गर्ने, गर्लफ्रेण्ड र ब्वाइफ्रेण्डकाे बहानावाजी बनाएर बाहिर जाने मौका खोजिरहेका हुन्छन् । तर अहिले यस्ता अनावश्यक घुमघाममा धेरै हदसम्म कमी आएको छ । 

जङ्कफुडको कमै प्रयोग 

बालबालिकाहरूलाई जङ्कफुडको स्वाद मन पर्छ । त्यसैले घरमा बनाइएका परिकारभन्दा बाहिरका खाद्यपदार्थ बढी खान मन पराउँछन् । विद्यालय चलेको समयमा बालबालिकालाई यो अवसर प्रायः प्राप्त भइरहन्छ । अभिभावकको व्यस्ततामा बालबालिकाको जिद्दीपनले काम गर्छ । तर विद्यालय जान नपर्दा अभिभावकले यस्तो बानीलाई नियन्त्रण गर्न सकेका हुन्छन् । 

बालबालिकाको थकान घट्नु 

अनावश्यक बाहिर निस्कने तथा खेल्ने बानीमा नियन्त्रण हुँदा बालबालिकाहरु अनावश्यक थकानमा छैनन् । यसले गर्दा उनीहरुले अध्ययन तथा घरको काममा समय खर्चिन पाएका छन् । 

दुर्घटनामा कमी 

काठमाण्डौ उपत्यका लगायतका शहरहरुमा राम्रा भनिएका विद्यालयमा विद्यार्थी लाने र लैजाने क्रममा बस, कार, मोटरसाइकल, साइकलमा यात्रा गर्दा हरेक दिनजसो दुर्घटनाका खवर आइरहन्थे । तर अहिले स्कुल नखुलेको हुँदा यस्ता दुर्घटना यसै पनि कमी आएको अनुमान गर्न सकिन्छ । 

बेफाइदा :

खर्चिलो माध्यम

अनलाइन कक्षाले एकातिर बढी शुल्क तिर्ने अभिभावकको खर्च कटौती भएको देखिन्छ भने अर्कोतर्फ थोरै आम्दानी गरेर सस्तो निजी विद्यालयमा पढाइरहेका अभिभावकको लागि अनलाइन कक्षा बोझिलो बनेको छ । सामान्य ज्याला मजदुरी गरेर दैनिकी चलाउने अभिभावकलाई मोबाइल र कम्प्युटर किन्नुपर्ने बाध्यताले थप तनाव दिएको छ । अनलाइन कक्षाको प्रयोगले यस्ता ग्याजेटहरूको मूल्य बढेको छ । 

काम हुने अभिभावकलाई समस्या 

अनलाइन कक्षाको कारणबाट साना बालबालिका हुने र काम भएका अभिभावकलाई समस्या छ । बालबालिकालाई विद्यालय पठाएर काममा जाने अभिभावकलाई काम नै छोड्नपर्ने बाध्यात्मक परिस्थिति छ । 

शारीरिक विकासमा अवरोध

बालबालिका घरमै थुनिनुपर्दा अत्यन्त पीडाबोध गरिरहेका हुन्छन् । खेलको माध्यमबाट सिकाइ गराउनुपर्ने बालबालिकालाई घरभित्र राख्दा उचित शारीरिक विकासमा बाधा परिरहेको विभिन्न अध्ययनले देखाएका छन् । ग्याजेटको बढ्दो प्रयोगले बालबालिकामा आँखा, घाँटी र दिमागमा समेत दीर्घकालीन असर पर्छ । 

नकारात्मक लतमा फस्ने डर

अनलाइन कक्षाको कारण अभिभावकले बालबालिकालाई मोबाइल, ल्यापटप र ट्याबलेट दिएका हुन्छन् । तर अभिभावकले बालबालिकाको उचित निगरानी नगर्दा उनीहरुले इन्टरनेटमा आउने अनेकथरी विषय र मनोरञ्जनमा रमाइरहेका हुन्छन् । अनलाइन गेम, यौनजन्य सामग्री आदि विषयमा रमाउन सिकेपछि बालबालिकाका लागि पछि यो एक किसिमको लतमा परिणत हुन सक्ने डर छ ।

सामाजिक विकासको बाधक 

बालबालिकालाई घरमै राखि राख्दा उनीहरुको सामाजिकीकरणमा समस्या पर्दछ । एक–अर्कामा घुलमिल बन्ने वातावरणको अभावमा उनीहरुको बानी त्यही अनुसार सेट बन्दछ र बाहिरको वातावरणभन्दा ग्याजेटमै रमाइलो लाग्न थाल्दछ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

डिल्लीराम पाण्डेय (रामु)

लेखक तनाव व्यवस्थापन सम्बन्धी विषयमा बेलायतबाट तालिम प्राप्त गरी नेपालमा प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया