उखु किसानकाे समर्थनमा कांग्रेस र जसपा : ‘कमिसन चिन्ने सरकारले किसान चिनेन’

 मंसिर ३०, २०७७ मंगलबार १८:५३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उखु किसानको आन्दोलनमा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले ऐक्यबद्धता जनाएका छन् । 

काठमाण्डौको माइतीघरमा भइरहेको किसानहरूको आन्दोलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र जसपाका नेताहरू पुगेर ऐक्यबद्धता जनाएका हुन् । नेताहरूले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यबद्धता जनाए । 

त्यस क्रममा कांग्रेस प्रवक्ता शर्माले किसानहरू उखुको मोल खोज्न नभइ सरकार खोज्न आएको बताउनुभयो । उखु उद्योगीले आफ्नो व्यक्तिगत समस्या देखाउँदै भुक्तानी नदिए पनि सरकारले भुक्तानी दिलाउन तत्परता देखाउनुपर्ने प्रवक्ता शर्माले बताउनुभयो । यस्तै अहिले सरकारमा बस्नेहरूले कमिसनलाई चिन्ने तर किसानलाई नचिन्ने गरेको बताउनुभयो । चुनावको बेला किसान र मजदुरलाई साथमा लिएर सरकारमा पुगेका मन्त्रीहरूले अहिले तिनै किसानहरूलाई नचिनेको बताउनुभयो । प्रदर्शनमा आउने किसानहरू किसान नै होइनन् भन्ने मन्त्रीको भनाइ सरकारको आधिकारिक धारणा हो वा होइन भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो ?

किसानको आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुगेका जसपाका नेताहरूले चिनी मिलका सञ्चालकहरूलाई गिरफ्तार गरेर भए पनि किसानको पैसा दिलाउनुपर्ने बताएका छन् । जसपा नेता नवराज सुवेदीले किसानले लिनुपर्ने बाँकी रकम मिल सञ्चालकलाई कारबाही गरेर भए पनि भुक्तानी गराउन सरकारले तत्परता देखाउनुपर्ने बताउनुभयो । सरकारले छिटोभन्दा छिटो किसानका माग पूरा नगरे आफूहरूले देशभरका किसानलाई राजधानीमा उतार्ने चेतावनीसमेत दिनुभयो । 

जनता समाजवादी पार्टीको किसान महासङ्घ पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेको थियो । महासङ्घका केन्द्रीय सदस्य आनन्दराम फुयाँलले अहिलेको सरकार लोकतान्त्रिक हो भनेर गर्व गर्ने ठाउँ समाप्त भएको बताउनुभयो । सरकार दलालहरूको हो भन्ने कुरा पछिल्ला अभिव्यक्तिहरूबाट पुष्टि भइसकेको पनि उहाँले बताउनुभयो । 

उखुको भुक्तानी माग गर्दै आन्दोलनमा सहभागी हुँदै आउनुभएका सर्लाहीका उखु किसान गजेन्द्रप्रताप सिंहले सरकारले किसानप्रति गरेको व्यवहार सकारात्मक नभएको बताउनुभयो । किसानले कपडा लागाएर आन्दोलन गर्दा सरकारले बिचौलिया देखेको भन्दै दुःख व्यक्त गर्नुभयो । उद्योगीहरूले ठेक्कापट्टाका लागि लिएको ऋण उखुबाट उत्पादन भएको चिनी बिक्री गरेको रकमबाट तिर्ने तर किसानलाई भुक्तानी नदिने प्रवृत्तिले आफूहरू मारमा परेको पनि बताउनुभयो । 

उखु किसानहरू उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइ दिन माग गर्दै आइतबारयता काठमाण्डौको माइतीघरमा आएर आन्दोलन गरिरहेका छन् । चिनी मिलले आफूहरूसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग गर्दै उखु किसानहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया