‘अध्यादेशलाई इगाेकाे रूपमा लिने भन्ने विषय नै हाेइन, यसले भोलि संविधानका नजिरहरू स्थापित हुन्छन्’

 मंसिर ३०, २०७७ मंगलबार १९:३७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संविधानविद् भीमार्जुन आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिले जालसाझीपूर्ण अधिकारको प्रयोग गरेर अध्यादेश जारी गरेको प्रतिक्रिया दिनुभएको छ । 

संवैधानिक परिषद्को बैठकको गणपूरक सङ्ख्यासम्बन्धी व्यवस्थालाई संशोधन गर्दै सरकारले अध्यादेश ल्याएपछि कुराकानी गर्दै संविधानविद् आचार्यले सरकारको निर्णयले संविधान र व्यवस्था प्रणालीमाथि ठूलो कुठाराघात गर्नुको साथै देशलाई राजनीतिक भूमरीतर्फ धकेलेको टिप्पणी गर्नुभयो । 

संवैधानिक परिषद्को बैठकमा सहभागी नभएर सभामुखले गल्ती गरेको भए पनि त्यही विषयमा तत्काल प्रतिक्रिया जनाउनुलाई उहाँले सरकारको ‘ठूलो भुल’ भनि टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारको अर्को महाभुल भयो । महाआपत्तिजनक कुरा हो । संविधानका यस्ता व्यवस्थाहरू र सरकारका कामलाई क्रिया–प्रतिक्रियाको रूपमा, इगोको रूपमा लिने भन्ने विषय नै होइन । किनभने एउटा घटनाले भोलि संविधानका नजिरहरू स्थापित हुन्छन् । भोलि कस्तो खालको मूल्य, मान्यताको संवैधानिक व्यवस्था हामीले चाहेको हो ? त्यो कुरामा यसले असर गर्छ ? सभामुख गएनन्, त्यो आपत्तिको विषय हो । त्यसको बदलामा सरकारले अध्यादेश ल्याएर त्यसले झन् तीन/चार वटा गम्भीर प्रश्न ल्यायो र संविधानको उल्लङ्घन गर्ने काम गर्‍यो ।’ 

संसद् अधिवेशन सुरु हुनु केही समयअघि मात्रै अध्यादेश ल्याउँदा सरकारले संसद्लाई नटेरेको र बाइपास गरेको स्पष्ट सन्देश दिएको उहाँको तर्क थियो । अध्यादेश खारेज भए पनि परिषद् बैठकले गरेका नियुक्तिका निर्णय बदर नहुने भएकाले दीर्घकालीन असर पर्ने निर्णयहरू बहुमत सदस्यबाट गरिनु विद्यमान प्रणाली र संविधानको मर्म विपरीत भएको उहाँले दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘अध्यादेश खारेज भयो भने पनि नियुक्ति बदर हुँदैन । दीर्घकालको रूपमा यति ठूलो असर पर्ने विषयमा सरकार प्रमुख र राष्ट्र प्रमुख दुई वटा मिलेर यो खालको काम गर्दै जानुभयो भने अवस्था के हुन्छ ?  यसलाई हामी कलेबर एक्ससाइज अफ पावर, फ्रड अन त कन्स्टिच्युशन (संविधानमाथिको जालसाझी र जालसाझीपूर्ण अधिकारको प्रयोग) भन्छौँ, जुन त्रुटिपूर्ण छ ।’ 

उहाँले सरकारको निर्णयले राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएको बताउनुभयो । उहाँले संविधानले राष्ट्रपतिलाई तटस्थ भूमिकाको रूपमा परिकल्पना गरेकाले संविधानको संरक्षक र अभिभावक तथा देश र नागरिकको  अभिभावकको रूपमा भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो हुन नसकेकोले उहाँको भूमिकामाथि प्रश्न खडा भएको बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया