मलेसियाको ‘टप ग्लोब्स कम्पनी’मा कार्यरत एक नेपालीको कोरोनाबाट ज्यान गयो, २ हजारभन्दा धेरै सङ्क्रमित

 पुस १, २०७७ बुधबार ८:५९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाको टप ग्लोब्स कम्पनीमा कार्यरत एक नेपालीको कोरोनाबाट ज्यान गएको छ ।

शनिबार टप ग्लोब्स कम्पनीमा कार्यरत २९ वर्षका यमनारायण चौधरी थारुको ज्यान गएको कम्पनीले पुष्टि गरेको छ ।  उहाँ दुई वर्षदेखि सेक्युरिटी गार्डको रुपमा कार्यरत हुनुहुन्थ्यो । कोरोना सङ्क्रमण देखिएका उहाँलाई निकै पछि मात्र कम्पनीले अस्पताल लगेको थियो ।

उहाँको निमोनिया र फोक्सोमा समस्याका देखिएकोे थियो । कम्पनीमा कार्यरतमध्ये ५ हजारभन्दा धेरै श्रमिक कोरोना सङ्क्रमित भएका छन् । जसमध्येमा २ हजारभन्दा धेरै नेपाली श्रमिक सङ्क्रमित भइसकेका छन् । कम्पनीमा अव्यवस्थित बसाई, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुनु र सामान्य दूरीसमेत कायम नहुँदा पछिल्लो समय धेरै श्रमिकमा सङ्क्रमण देखिएको छ ।  

कम्पनीमा कार्यरत युवराज खड्काले सबैभन्दा पहिला कम्पनीले सामान्य स्वास्थ्यका मापदण्ड पनि पालना नगराएको फोटो बाहिर सार्वजनिक गर्नुभएको थियो । कम्पनीको म्यानेजरसँग यस विषयमा कुरा गर्दा जागिर जाने डरले उहाँले नेपालमा रहेका मानवधिकार सम्बन्धी संस्थामा फोटो पठाउनुभएको थियो । त्यसपछि यो विषय बाहिर आएको हो ।

कम्पनीले विदेशी श्रमिकलाई समयमा उपचार नगरिदिएको र स्वास्थ्यका बारेमा पनि चासो नदिएको भन्दै श्रमिकहरुले आवाज उठाइरहेका छन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया