इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसङ्घद्वार...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ ।
प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालयबाट आवश्यक कानुनी प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।
‘किसानसँग जाहेरी लिइ, पक्राउ पुर्जीसमेत जारी भइसकेको छ, ठगी मुद्दामा कारबाही अघि बढ्छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरले भन्नुभयो । उहाँले अहिलेसम्म पक्राउ भएको भन्ने जानकारी नआएको बताउनुभयो ।
सर्लाही, रौतहट र नवलपरासीका चार चिनी मिलका सञ्चालकले विगत वर्षदेखि नै उखु किसानको बाँकी बक्यौता भुक्तानी गरेका छैनन् । पटक–पटक ताकेता गर्दा भुक्तानी नदिएपछि किसान फेरि काठमाण्डौ आएर आन्दोलन चलाइरहेका छन् । त्यही विषयमा मङ्गलबार गृहमन्त्री रामबहादुर थापासहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि विकासमन्त्री घनश्याम भुसाल र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठीसहितको बैठक बसेको थियो । बैठकले उनीहरुलाई पक्राउ गरी कारबाही गर्ने निर्णय गरेको थियो ।
त्यही निर्णयका आधारमा गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि गरेको परिपत्रअनुसार प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको हो । कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढेपछि केही मिल सञ्चालकले भने रकम जम्मा गरेको भन्ने जानकारी आएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । नतिर्नेलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई स्पष्ट निर्देशन गरिएको उहाँले बताउनुभयो ।
गएको वर्ष उखु किसान आन्दोलित भएपछि माग सम्बोधन गर्ने गरी सहमति भएको थियो । त्यो सहमति पूरा नभएपछि किसान फेरि आन्दोलित भएका हुन् । प्रतिनिधि सभाका सांसदहरूले किसानको रकम भुक्तानी नगर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गरी कारबाहीको माग गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।