प्रचण्डसँग दूरी घटाउँदै ओली, अडान र विवाद कायमै

 पुष ४, २०७७ शनिबार १५:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पार्टीभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको दूरी घटाउने प्रयास गर्नुभएको छ ।

प्रचण्डको प्रस्ताव फिर्ता नहुँदासम्म बैठकमै उपस्थित नहुने अडान लिंदै आएका ओली प्रचण्डलाई भेट्न शनिबार उहाँकै निवास खुमलटार पुग्नुभयो । यसअघि छलफलको लागि प्रचण्डलाई बालुवाटार बोलाउने ओली प्रचण्डलाई भेट्नकै लागि पहिलोपटक खुमलटार पुग्दा नेकपाकै नेताहरु आश्चर्यचकित भएका छन् । झण्डै एक घण्टा भएको छलफलमा ओली र प्रचण्डसँगै पार्टी उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित हुनुहुन्थ्यो ।

छलफलमा कुनै ठोस निष्कर्ष ननिस्किए पनि यसले पार्टीभित्रको विवाद मिलाउन सकारात्मक भूमिका खेलेको नेकपा नेताहरुको भनाइ छ । यसअघि जस्तै शनिबारको भेटमा पनि ओलीले आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिका साथ अघि बढ्न प्रचण्डसँग आग्रह गर्नुभएको थियो । ओलीको यो आग्रहलाई अस्वीकार गर्दै प्रचण्डले स्थायी कमिटी बैठकमै छलफल गर्नुपर्नेमा जोड दिनुभएको उहाँकाे सचिवालयले जनाएको छ ।

ओली र प्रचण्डको सचिवालयले खुमलटारको भेट बालुवाटारमा हुँदै आएको भेटकै निरन्तरता भएको जनाएका छन् । शुक्रबार पनि ओली र प्रचण्डबीच छलफल भएको थियो । स्रोतकाअनुसार शुक्रबार बालुवाटारको छलफल सकेर प्रचण्ड निस्कने बेलामा ओलीले ‘भोलि म तपाईंलाई भेट्न आउँछु’ भन्नुभएको थियो । खुमलटारमा प्रचण्डलाई भेटेर फर्किंदा ओली पुल्चोकमा रहेको गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पस्नुभएको थियो ।

गृहमन्त्री थापाको निवासमा प्रधानमन्त्री पुगेपछि मन्त्री क्वाटारमा रहेका अरु मन्त्रीहरु पनि उपस्थित भएका थिए । त्यहाँ प्रधानमन्त्री ओलीले आफू प्रचण्डलाई भेटेर फर्किएको जानकारी दिनुभएको थियो । तर भेटमा के कुरा भयो भन्ने जानकारी चाहिँ प्रधानमन्त्रीले दिनुभएन । खुमलटारबाट फर्किंदा बाटोमा पर्ने भएकाले आफू मन्त्री निवास पसेको प्रधानमन्त्री ओलीले बताउनुभएको थियो ।

यसअघि ओली प्रचण्डलाई भेटेर निस्किएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुग्नुभएको थियो । केहीबेर प्रचण्ड, नेपाल र गौतमबीच कुराकानी भएको थियो । आइतबार स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयासस्वरुप नेकपाका शीर्ष र दोस्रो तहका नेताहरु औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् । प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने ओलीको अडान छ भने दुवै प्रस्ताव स्थायी कमिटी बैठकमै छलफल हुनुपर्ने प्रचण्ड–नेपाल पक्षको अडान छ ।

दोस्रो तहका केही नेताहरुले संयुक्त प्रस्तावमा जोड दिए पनि यसमा सहमति जुटिसकेको छैन । बिहीबार प्रचण्डसँगको भेटमा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमति जनाउनुभएको थियो । तर सहमतिअनुसार प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नगरेको भन्दै प्रचण्ड–नेपाल समूह थप रुष्ट बनेको छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया