खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
दाङ – घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति पाँच लाख ५० हजार रुपैयाँका दरले १६ लाख ५० हजार उठाए । उनले गाउँका अन्य दुई जनालाई साक्षी राखेर युवाबाट रकम बुझेका थिए । रकम बुझाएको अहिले दुई वर्ष पुग्यो । विदेश पठाउँछु भन्ने इन्द्रबहादुर फरार छन् ।
विदेश पठाउने भनी पैसा बुझाएर ठगिएका घोराहीका जीवन घर्ती, खुमबहादुर खड्का र तुलसीपुरका श्यामलाल चौधरी ठगी गर्ने व्यक्तिको खोजीमा हुनुहुन्छ । विदेश जाने लोभमा ठगिएका श्यामलाल भन्नुहुन्छ, ‘शुरुशुरुमा केही समय कुर्नुस् पठाउँछु भनेर छल्दै गयो, पछि पैसा फिर्ता गर्छु पनि भन्यो तर, अहिले सम्पर्कविहीन छ ।’
श्यामलालका अनुसार उहाँहरुलाई विदेश पठाउँछु भनेर ठगी गर्ने इन्द्रबहादुर अहिले कहाँ, के गर्दैछ भन्ने कसैलाई पत्तो छैन, ‘न फोन लाग्छ न कहाँ बस्छ भन्ने थाहा नै छ’, उहाँ भन्नुहुन्छ, ‘ऋण गरेर पैसा दिएको अहिले ब्याज तिर्दातिर्दै बेहाल भएको छ ।’
लमही नगरपालिका–५ निवासी दामोदर धिताल, शान्ताराम चौधरी र सन्दीप बुढाथोकीले वैदेशिक रोजगारको क्रममा रुस जाने भन्दै गुल्मीका टामलाल रिजाललाई प्रतिव्यक्ति चार लाखका दरले १२ लाख रुपैयाँ दुई पक्षबीच कागज बनाएरै बुझाउनुभयो ।
रुसमा मासिक एक हजार २०० डलर कमाइ हुने भन्दै चार वर्षअघि पैसा दिनुभएको थियो तर लामो समय बितिसक्दा पनि उहाँहरुले न त विदेश जान पाउनुभयो, न पैसा नै फिर्ता पाउनुभयो ।
पीडितमध्येका एक दामोदरका अनुसार पैसा लगेको दुई वर्षसम्म विदेश नपठाएपछि प्रहरीको सहयोगमा ठगी गर्ने टामलाललाई पक्राउ पनि गरियो । तर केही दिनभित्रै पैसा दिने सहमति गरेर प्रहरीबाट छुटेका टामलाल अहिले बेपत्ता छन् । वैदेशिक रोजगारीका नाममा ठगिएका तीनै जना दुई वर्षदेखि उनकै खोजीमा हुनुहुन्छ ।
घोराही उपमहानगरपालिका–७ का १० युवाले पनि कामदारको रूपमा मलेसिया जाने भन्दै काठमाण्डौमा भेटिएका शिवबहादुर कार्कीलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले पाँच लाख बुझाएका थिए । एउटै गाउँका तीन युवासँग न त पैसा लैजाने कार्कीको सम्पर्क नम्बर छ न बस्ने ठेगाना नै थाहा छ । ठगीमा परेको भन्दै बिनाप्रमाण प्रहरीमा पुगेपछि प्रहरीलेसमेत आफूहरुको मुद्दा दर्ता नगरेको पीडितमध्येका प्रमोद चौधरीले बताउनुभयो ।
पछिल्लो समय वैदेशिक रोजगारमा जाने क्रम बढेपछि ठगी धन्दा पनि बढ्दो छ । वैदेशिक रोजगार ऐन, २०७५ (संशोधन) मा कसैले पनि वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुटो आश्वासन दिई वा प्रलोभन देखाई रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जानावापत असुल गरिने व्यवस्था छ ।
साथै त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई ठगी गर्ने व्यक्तिलाई तीन लाख रुपैयाँदेखि पाँच लाखसम्म जरिवाना र तीनदेखि सात वर्षसम्म कैद सजायको व्यवस्था छ । यद्यपि जिल्ला प्रहरी कार्यालय दाङसँग वैदेशिक रोजगारसम्बन्धी के कति मुद्दा परेका छन् भन्ने त्यसको कुनै छुट्टै तथ्याङ्क छैन । छिटपुट आउने गुनासालाई जिल्ला अदालत वा वैदेशिक रोजगार विभागमा पठाउने गरेको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा शाखाका पदमप्रसाद बोहोरा बताउनुहुन्छ ।
पछिल्लो समय वैदेशिक रोजगारमा लगाइदिने बहानामा होस् वा लोभलालच देखाएर गैरकानूनीरूपमा विदेश पठाउने क्रम बढ्दो छ । यसलाई नियन्त्रण गर्न भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले गत असार १ गते जिल्लाका सबै जिल्ला प्रसाशन कार्यालयलाई वैदेशिक रोजगारसम्बन्धी मुद्दा हेर्न भन्दै पत्रसमेत पठाएको छ ।
गृहकै पत्रबमोजिम जिल्ला प्रशासन कार्यालय दाङले पनि मुद्दा दर्ता गर्न थालेको छ तर वैदेशिक रोजगारसँग जोडिएको मुद्दामा दोहोरो छलफल चलाउने, क्षतिपूर्ति असुलउपर गर्ने कार्य भने अझसम्म हुनसकेको छैन । वैदेशिक रोजगारसँग जोडिएको ठगी मुद्दा प्रशासनले हेर्ने जिम्मेवारी भए पनि आफूहरुले दर्ता गरेर प्रहरीलाई सिफारिस गर्ने गरेको जिल्ला प्रसाशन कार्यालय दाङका मुद्दा शााखा प्रमुख कुवेरजङ्ग खड्का बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।