चिसो र प्रदूषणयुक्त हावाले स्वास्थ्यमा असर गर्छ,  सावधानी अपनाऔँ

 पुष ६, २०७७ सोमबार ९:५६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पुस लागेसँगै चिसो ह्वात्तै बढेको छ । जाडोले मुख्यतया बालबालिका, वृद्धवृद्धा  र दीर्घ रोगीहरुहरुलाई बढी असर गर्छ । जाडो समयमा हाम्रो शरीरको रोगसँग लड्न सक्ने क्षमता कमजोर हुन्छ ।  यो समयमा हावा चिसो र प्रदूषणयुक्त हुन्छ । 

यसले स्वास्थ्यमा नराम्रो असर गर्छ । कोठा तताउन प्रयोग गरिने विद्युतीय उपकरणहरुले पनि स्वास्थ्यमा असर गर्छ । गाउँघरमा दाउरा, कोइला बाल्ने चलन धेरै हुन्छ ।  यसले अर्को स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

यातायातका साधन र मेसिनहरुले निकालेको प्रदूषण पनि सतहमा रहिरहन सक्छ । त्यसले पनि स्वास्थ्यमा नराम्रो असर पर्छ ।  चिसोबाट बच्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको न्यानो लुगा लगाउने हो । न्यानो लुगा लगाउँदा बाहिरको चिसो हावा शरीरभित्र पस्न पाउँदैन । 

बाहिर हिँड्दा पसिनाले शरीर भिज्नु हुँदैन । शरीर भिजेमा शरीरको तापक्रम घट्ने र रोग लाग्ने सम्भावना हुन्छ । झोलिलो खानेकुरा खानुपर्छ । तातो पेय पदार्थ पिउनुपर्छ । सुगरलगायतका समस्या भएकाहरु र गुलियो खान नहुनेहरुले अरु नुनिलो, तातो, झोलिलो खानेकुरा खानुपर्छ । गुलियो खान समस्या नहुनेहरुले भने गुलियो र झोलिलो खानेकुरा खाँदा शरीरलाई शक्ति प्राप्त हुन्छ ।   

कोरोनाको जोखिम अझै सकिएको छैन । जबसम्म नेपालमा कोरोना भाइरसको खोप आउँदैन, तबसम्म जोखिम रहिरहन्छ । यस्तो बेला कोरोनासँगै अरु रोगको जोखिम पनि हुने भएर सुरक्षा सावधानी अपनाउन भुल्नु हुँदैन ।मास्कले कोरोना मात्र नभएर अरु खालका सरुवा रोगबाट पनि बचाउँछ ।  त्यसैले घर बाहिर निस्कँदा र भीडभाडमा जाँदा अनिवार्य रुपमा मास्कको प्रंयोग गर्नुपर्छ। 

हाम्रो देशको मौसम एकैखालको छैन । एकैछिन जाडो र एकैछिन न्यानो हुन्छ । एकछिन हिँड्दा तातो हुन्छ । गर्मी भयो भनेर न्यानो पारेर लगाएको लुगालाई हतपत खोलेर शरीरलाई चिसो पार्नु हुँदैन । त्यसो गर्दा पनि स्वास्थ्यमा समस्या हुन सक्छ । एकदमै गर्मी हुने तराईमा पनि जाडो समयमा एकदमै जाडो हुने गर्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँले हात तथा नाकको टुप्पो खाने समस्या हुन्छ । 

त्यसैले आफू कुन ठाउँमा र कस्तो अवस्थामा छ, त्यही अनुसारको सावधानी अपनाउनुपर्ने हुन्छ । मुख्य कुरा शरीरको संवेदनशील भागहरु जस्तै कान, घाँटी, टाउको, पैताला र हातलाई बढी न्यानो पार्नुपर्छ । यी अंगलाई  न्यानो पार्दा पनि चिसो कम लाग्छ ।

जाडोमा धुम्रपान र मद्यपान गर्नु हुँदैन । यसले शरीरमा नकारात्मक असर गर्छ । गर्मीबाट जाडो हुँदा  हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढ्दै जान्छ,  तर एक्कासी जाडो बढ्दा भने शरीरले जाडो सहन सक्ने क्षमताको विकास गरिनसकेको हुनाले स्वास्थ्यमा समस्या पर्न सक्छ ।

अर्को बिर्सनै नहुने कुरा, जाडो भयो भनेर बालबालिकालाई धेरै लुगा लगाई दिनु हुँदैन  । पसिना  आयो भने झन् चिसो भएर स्वास्थ्यमा समस्या हुन सक्छ । कसिलो गरी पनि लुगा लगाइदिनु हुँदैन । यी कुरामा विशेष ख्याल गर्नुपर्छ । 
 (काठमाण्डौ मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका प्रमुख डाक्टर सुनिलकुमार जोशीसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया