कोरोना अन्टार्कटिकामा पनि पुग्यो

 पुस ८, २०७७ बुधबार १५:९:५४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अहिलेसम्म कोभिड–१९ बाट मुक्त रहँदै आएको अन्टार्कटिका महादेशमा पनि कोरोना भाइरसको सङ्क्रमण पुगेको छ । 

अन्टार्कटिका महाद्वीपमा रहेका चिलीका सेनाहरुले त्यहाँ रहेको आफ्नो बर्नार्डाे ओहिगिन्स अनुसन्धान केन्द्रमा रहेका ३६ जनामा सङ्क्रमण देखिएको बताएको छ । 

सङ्क्रमण देखिएका ३६ मध्ये २६ जना सैनिक र १० जना मर्मत सम्भार गर्ने कर्मचारी हुन् । उनीहरु सबैलाई चिली बोलाइएको छ । 

केही दिन अघिमात्र चिलीका जलसेनाले त्यस अनुसन्धान केन्द्रमा सामग्री आपूर्ति गर्ने र मानिस पुर्याउने एक पानी जहाजमा तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको बताएको थियो । 

यो समाचारसँगै अब विश्वकै सातै महादेशमा कोरोना भाइरस पुगेको छ ।  

सार्गेन्टो एल्डीआ नाम गरेको जहाज २७ नोभेम्बरमा अनुसन्धान केन्द्र पुगेको थियो र १० डिसेम्बरमा चिली फर्किएको थियो ।  

चिलीको टेलकुआनो शहरमा जलसेना बेसमा पुगेपछि जहाजका तीन जना क्रु मेम्बरमा सङ्क्रमण देखिएको थियो ।   

चिलीसका जलसेनाले अन्टार्कटिकाको यात्रामा गएका सबै जनाको पीसीआर परीक्षण गरेको र सबैको रिपोर्ट नेगेटिभ आएको दाबी गरेको छ ।  

बर्नार्डाे ओहिगिन्स अनुसन्धान केन्द्र चिलीको अन्टार्कटिकामा रहेका चार स्थायी बेसमध्ये एक हो, जसलाई उसका सेनाले सञ्चालन गर्छन् । 

कोरोना भाइरसबाट प्रभावित ल्याटिन देशमध्ये चिली छैटौँ स्थानमा रहेको देश हो । त्यहाँ अहिलेसम्म पाँच लाख ८५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । 

गएको अगस्टमा अन्टार्कटिका क्षेत्रमा अनुसन्धान गर्ने संस्था ब्रिटिश अन्टार्कटिक सर्भेले कोरोना भाइरसका कारण त्यस क्षेत्रमा काम गर्न रोक लगाएको जनाएको थियो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया