प्रदेश १ मा तीन मन्त्रीद्वारा राजीनामा

 पुस १२, २०७७ आइतबार १०:१६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्रीसहित तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिनुभएको हो । वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमका कारणले प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख छ ।

हिजो मात्रै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदबाट बर्खास्त गर्नुभएको थियो । आफूविरुद्धको अविश्वासको पत्रमा हस्ताक्षर गराउँदै हिँडेको भन्दै आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गर्नुभएको थियो । नेकपाका प्रचण्ड–माधव पक्षका आङ्बोलाई पदमुक्त गरेसँगै तीन जना मन्त्रीले पनि राजीनामा दिएका हुन् ।

यसैबीच प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रमा देखिएको विवादको प्रभाव प्रदेश सरकारतिर पनि देखिन थालेको हो ।

यसअघि अस्ति शुक्रबार वाग्मती प्रदेश सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो भने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया