‘सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो उद्देश्य हैन’

 पुस १२, २०७७ आइतबार १४:२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताउनुभएको छ । 

आइतबार मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि कर्मचारीहरूसँग कुराकानी गर्दै मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताउनुभएको हो ।

आफूले सकेसम्म सेवामा समर्पित गर्दै सुनाम कमाउने मात्रै उद्देश्य राखेको मन्त्री ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो राजनीतिक उद्देश्य हैन । जति सक्छु म सेवामा समर्पित हुन्छु । जति कमाउनु छ मलाई सुनाम कमाउनु मात्रै छ ।’

राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछु भन्दा पनि राज्यलाई समृद्ध बनाउनतर्फ सबैले सोच्नुपर्ने पनि मन्त्री ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्य दोहन गरेर राज्यबाट मैले के पाउँछु भन्ने कुराभन्दा पनि राज्यलाई समृद्ध बनाउने कुरामा मेरो योगदान के हुन सक्छ र त्यो संस्थाको उपयोगिता कसरी हुन्छ भन्ने कुरामा अलि बृहत् भएर सोचौँ ।’

पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँ रहेको तर त्यसभित्रका बदानामीहरूले राम्रो नगरेको पनि मन्त्री ढकालले बताउनुभयो । तारागाउँ समितिको पनि आफ्नै महत्त्व भएको तर त्यसभित्रको कथा बेग्लै भएकाले त्यसलाई सुधार गर्न आफूले अध्ययन थाल्ने पनि मन्त्री ढकालले बताउनुभयो ।

मन्त्री ढकालले कर्मचारीलाई काम गर्न सहज वातावरण निर्माण गर्ने कुरामा आफूले सधैँ ध्यान दिने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • गोपाल अधिकारी

    Dec. 27, 2020, 3:28 p.m.

    तिमी राष्ट्रघाती के पि ओली को भरपर्दो दलाल हैन र ? कोभिड- १९ को औषधि माँ गरेको भ्रष्टाचारको पैसा के गर्यो ? त्यो उद्देश्य कसको थियो त ?

  •  0 Reply

तपाईको प्रतिक्रिया