प्रतिनिधि सभाकाे चुनाव गर्नु पहिलाे प्राथमिकता : मन्त्री साह

 पुस १२, २०७७ आइतबार १६:२३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त सहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा चुनाव गर्नु रहेको बताउनुभएको छ । 

आइतबार सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको चुनाव गर्नु रहेको बताउनुभएको हो । 

सहरी विकास मन्त्रालयले पनि चुनाव केन्द्रित काम गर्ने उहाँले बताउनुभयो । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रूपमा अगाडि बढाउने उहाँकाे भनाइ छ ।

सरकारको मुख्य कार्यभार चुनाव प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रूपमा चुनावमा केन्द्रित हुने मन्त्री साहको भनाइ छ । उहाँले भन्नुभयो, ‘यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु हो । मन्त्रालयको काम पनि निर्वाचन केन्द्रित गरेर गर्छौँ । यो वर्षको बजेट आइसकेको छ । निर्धारित कार्यक्रम पनि बनिसकेको छ । त्यसैलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने, भइरहेको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने, राष्ट्रको अगाडि मुख्य कार्यभार भनेको निर्वाचन प्रभावकारी गर्ने र तोकेकै समयमा निष्पक्ष ढङ्गले निर्वाचनमा केन्द्रित हुन्छौँ ।’

मन्त्री साहले मन्त्रालयले विकासको कामलाई प्रभावकारी बनाउने बताउनुभयो । कोरोना महामारी फैलिइरहेको अवस्थामा कोरोना महामारीबाट नेपाललाई अझै सुरक्षित गर्न थप सजगता अपनाउने उहाँको भनाइ छ ।   

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया