पदभार ग्रहण गर्दै मन्त्रीहरूले के–के भने ?

 पुस १२, २०७७ आइतबार १९:२१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शुक्रबार नियुक्त भएका केन्द्रका नवनियुक्त मन्त्रीहरूले सरकारको मुख्य काम प्रतिनिधि सभाको चुनाव गर्ने रहेको बताएका छन् । आइतबार आ–आफ्नो मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै सरकारले घोषणा गरेको प्रतिनिधि सभाको चुनाव निर्वाचन सफल पार्नु तथा देशमा स्थिरता, स्थायित्व कायम गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउनका लागि आफू सरकारमा आउनुपरेको बताउनुभयो । देशको राजनीतिक प्रणाली नै धराशयी भइ अराजकतातर्फ जाने सम्भावना भएकाले देशको प्रणालीलाई बचाउनको लागि आफू मन्त्रीको रूपमा मन्त्रालयमा आउनुपरेको बताउनुभयो ।

मन्त्री रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिनको लागि र देशमा स्थिरताका लागि मध्यावधि चुनावमा जानु अनिवार्य आवश्यकता रहेको बताउनुभयो । यस्तै मन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना खाेप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै कुनै पनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताउनुभयो ।

खरिद प्रक्रियामा आफूलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्नेसमेत उहाँको भनाइ छ । 

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल निर्माणका लागि ऊर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्नुपर्ने बताउनुभएको छ । कोभिडका कारण विदेशबाट फर्किएका ऊर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याउनुपर्ने दायित्व मन्त्रालयको भएको उहाँले बताउनुभयो ।

मन्त्री अर्यालले रासायनिक मलको विषयमा किसानको मागलाई सम्बोधन गरी सधैँका लागि समस्या समाधान गरिने पनि दाबी गर्नुभयाे । त्यसका लागि सात वटै प्रदेशमा २५ हजार मेट्रिक टन क्षमताको रासायनिक मल भण्डारको स्थापना गर्नेसमेत मन्त्री अर्यालले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताउनुभयो । मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताउनुभएको हो ।

राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछु भन्दा पनि राज्यलाई समृद्ध बनाउनतर्फ सबैले सोच्नुपर्ने पनि मन्त्री ढकालले बताउनुभयो । 

खानेपानीमन्त्री मणिचन्द्र थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गरिरहेको बताउनुभयो । उहाँले स्थिरता र समृद्धिको वाहकको रूपमा स्थायी सरकार बनाउन आवश्यकता रहेको पनि बताउनुभयो । 

युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहँदा अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गर्नुभएको छ । 

आइतबार कानुन मन्त्रालयबाट बिदाई हुने क्रममा मन्त्री तुम्बाहाङ्फेले विभिन्न ऐन, नियम बनाउने सन्दर्भमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको दाबी गर्नुभएको हो । मौलिक हकसँग जोडिएका विषयमा आफूले पदबहाली गर्दा हस्ताक्षर गरेअनुसार नै अधिकांश ऐन र नियमावली निर्माणमा सफलता प्राप्त गरेको बताउनुभयो ।

सहरी विकासमन्त्री प्रभु साहले पनि सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा चुनाव गर्नु रहेको बताउनुभएको छ । सहरी विकास मन्त्रालयले निर्वाचन केन्द्रित काम गर्ने उहाँको भनाइ छ । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रूपमा अगाडि बढाउने मन्त्री साहले बताउनुभयो ।

सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रूपमा निर्वाचनमा केन्द्रित हुने मन्त्री साहको भनाइ छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो । केही नयाँ मन्त्री नियुक्त भएका छन् भने केहीलाई मन्त्रालय हेरफेर गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया