आन्तरिक उडानमा निगम टीठलाग्दो,  ४९ वर्ष पुराना २ जहाजबाट १४ वटा गन्तव्य धान्दै

 पुष १३, २०७७ सोमबार ११:५५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल वायु सेवा निगमको आन्तरिक उडान अत्यन्तै टीठलाग्दो अवस्थामा पुगेको छ ।

गन्तव्य धेरै, जहाज र आम्दानी कम हुँदा निगम अत्यन्तै टीठलाग्दो अवस्थामा पुगेको हो । निजी क्षेत्रका अन्य कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्दै जाँदा सरकारी लगानी रहेको वायुसेवा निगम भने आन्तरिक उडान नै बन्द गर्ने अवस्था नजिकै पुगेको छ  । 

निगमले अहिले देशका १४ वटा गन्तव्यमा उडान गर्दै आएको छ । काठमाण्डौलाई आधार बनाएर निगमले भोजपुर, दाङ, ताप्लेजुङ, थामखर्क, खानीडाँडा, रुकुम र फाप्लुमा उडान गर्दै आएको छ । यस्तै नेपालगन्जलाई आधार बनाएर रुकुम, डोल्पा, जुम्ला, साँफेबगर, सिमीकोट, ताल्चा र बाजुरामा निगमले उडान गर्दै आएको छ । 

निगमले १४ वटा गन्तव्यमा उडान गर्दै आए पनि जहाज भने जम्मा २ वटा छन् । त्यो पनि ४९ वर्ष पहिलेका  । सन् १९७१ अर्थात विक्रम संवत् २०२८ सालमा किनेका २ वटा ट्विनअटर जहाजमार्फत अहिले निगमले आफ्नो आन्तरिक उडान धान्दै आएको छ ।

चीनसँग किनेका र उपहारमा पाएका ६ वटा जहाज उडान नसकेर ग्राउन्डेड गरेको निगमले अहिले १९ सिटे २ वटा जहाज मात्रै उडाउँदै आएको छ । ४९ वर्ष पुराना जहाज बिग्रिएर हैरान हुने गरेको छ । एउटा जहाज बिग्रिएमा २/३ हप्ताभरिकै उडान तालिका प्रभावित हुँदै आएको निगमका एक कर्मचारीले जानकारी दिए । 

‘४९ वर्ष पुराना जहाज छन्, कुन जहाजमा कतिखेर खराबी आउँछ भन्न सकिन्न, एउटा जहाज बिग्रियो भने केही हप्ताकै उडान तालिका प्रभावित हुन्छ, छिटो गन्तव्यमा पुग्नको लागि टिकट काटेका यात्रु बरु बसमा जान बाध्य हुन्छन्, यसले गर्दा निगमप्रतिको विश्वास गुम्दै गइरहेको छ’, कर्मचारीको भनाइ छ । 

जहाज उडाउन भन्दा नउडाउँदा फाइदा

आन्तरिक जहाजमा यात्रु पनि पाइन छाडेको निगमले जनाएको छ ।  अहिले  आन्तरिक गन्तव्यमा जहाज उडानभन्दा नउडाउँदा नै पैसा बचत हुने निगमको भनाइ छ ।

‘धेरैजसो गन्तव्यमा इन्धन शुल्क पनि उठ्ने अवस्था छैन, व्यवस्थापन खर्च पनि महँगो छ, जहाज उडाउँदा धेरै घाटा भइरहेको छ, त्यसैले कतिपय गन्तव्यमा उडान नभएकै ठिक छ भन्ने अवस्थामा पुगेका छौँ ’ एक कर्मचारीको भनाइ छ ।

नेता र सांसदको दबाबको कारण निगमले यात्रु नहुँदा नहुँदै पनि केही दुर्गम क्षेत्रमा उडान गर्न बाध्य भएको छ । यसका कारण पनि समस्या भएको निगम स्रोतको गुनासो छ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया