लकडाउनमा समेत निगमले नाफा कमायो, कुन वर्ष कति नाफा ?

 पुस १३, २०७७ सोमबार १४:४७:६ | रासस
unn.prixa.net

काठमाण्डौ – कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमको नाफामा वृद्धि भएको छ । गएको चैत ११ गतेदेखि गरिएको लकडाउनको अवधिमा समेत निगमले नाफा आर्जन गरेको छ । 

निगमले सार्वजनिक गरेको गएको आर्थिक वर्ष २०७६/०७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार झण्डै १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड नाफा कमाएको हो । प्रतिवेदनमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दानी बढेपछि निगमको नाफामा वृद्धि भएको हो । 

ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपीजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण गएको आर्थिक वर्ष २०७६/०७७ मा निगमको नाफा बढ्न पुगेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको छ । 

कुन वर्ष कति नाफा ?

लामो समयदेखि घाटामा रहेको निगम पछिल्ला वर्षमा नाफामा गएको हो । निगमले गएको आव २०७२/०७३ मा १९ अर्ब ३६ करोड, आव २०७३/०७४ मा ९ अर्ब ४५ करोड, २०७४/०७५ मा तीन अर्ब ५८ करोड, २०७५/०७६ मा ८ अर्ब ७५ करोड र गएको आव २०७६/०७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ । 

निगमले आव २०७५/०७६ मा २९ करोड रुपैयाँ रहेको चुक्ता पुँजीलाई दश अर्ब पुँजी वृद्धि गरेर एघार अर्ब रुपैयाँ पुर्‍याएको थियो । आव २०७५÷०७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७६/०७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो । इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । 

दश महिनाको अवधिमा पाइप लाइनबाट डिजेल ढुवानी गर्दा एक अर्ब ४७ करोड रुपैयाँ बचत भएको प्रतिवेदनमा उल्लेख छ । साथै गएको वर्षको नाफा रकमको बैंक ब्याजबाट मात्र एक अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको निगमको जनाएको छ । आव २०७०/०७१ मा प्रतिलिटर १३४ रहेको पेट्रोलको मूल्य आव २०७६/०७७ को असार मासान्तसम्म घटेर एक सय २ रुपैयाँमा झरेको थियो । यस्तै त्यही अवधिमा एक सय ५ रहेको डिजलको मूल्य घटेर ८८ रुपैयाँमा झरेको थियो । 

निगमले अन्तर्राष्ट्रिय मूल्यअनुसार इन्धनमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा मूल्य समायोजन गर्दै आएको छ । निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको मूल्यअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गरेको छ । 

निगममा सरकारको ९९ प्रतिशत शेयर लगानी रहेको छ ।  यसमा अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको शेयर रहेको छ । सरकारलाई सबैभन्दा धेरै राजस्व बुझाउनेमा अग्रस्थानमा रहेको निगमले गएको आवमा इन्धनको कारोबार गरेर सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजस्व बुझाएको जनाएको छ । गएको वर्ष निगमले दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कमी हो । 

निगमले उपभोक्ताबाट विभिन्न शीर्षकमा उठाउँदै आएकोमध्ये सडक मर्मत शुल्कबाट पाँच वर्षको अवधिमा चार अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । यस्तै प्रदूषण करबाट दुई अर्ब ९४ करोड, पूर्वाधार विकास करबाट १३ अर्ब ९८ करोड रुपैयाँ जम्मा भएको छ । निगमले अन्तर्राष्ट्रिय मूल्यअनुसार मूल्य समायोजन गर्दै आए पनि सीमानाका भन्दा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ ।  सीमा नाका भन्दा नेपालमा पेट्रोल ३१ रुपैयाँ ८४ पैसा र डिजल ३७ रुपैयाँ २६ पैसा नाफा रहेको छ । अहिले पेट्रोल प्रतिलिटर १०६ र डिजलको ८९ रुपैयाँ मूल्य रहेको छ ।   

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया