‘हातमा पैसा नपर्दा मन भारी पारेर घर फर्किनुपरेकाे छ’

 पुस १४, २०७७ मंगलबार ११:७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारसँग सम्झौता भएसँगै उखु किसान घर फर्किन थालेका छन् । हिजो (सोमबार) चिनी उद्योगीबाट २१ दिनभित्र ६५ करोड रुपैयाँ भुक्तानी पाउने भएपछि उखु किसान घर फर्किन थालेका हुन् । 

सोमबार २१ दिनभित्र भुक्तानी नभएमा सबै उद्योगीको सम्पत्ती रोक्का राख्ने र किसानको पैसा उपलब्ध गराउन पहल गर्ने सहमति भएपछि किसान घर फर्किन लागेका उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिनुभयो ।

यस्तै उखु किसानले पाउनुपर्ने अनुदानको दुरुपयोग, किसानको अनुदान चिनी मिलमा गएको, सरकारले तोेकेभन्दा कम मूल्यमा उखु खरिद गरेको लगायतका विषयमा छानबिन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भएको छ । समितिमा उद्योग मन्त्रालय, गृह मन्त्रालय, कृषि मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि, चिनी मिलका सञ्चालक र पाँच जना किसान पनि रहने सहमति भएको छ । प्राविधिक समितिले एक सय २० दिनभित्र प्रतिवेदन तयार पार्नेछ । 

यस्तै सर्लाहीमा किसानले १० किलोमिटर वरपरका मिललाई मात्रै उखु बेच्न पाउने गरी बनाइएको नियम खारेज गरेर जुनसुकै मिलमा पनि बेच्न पाउने सहमति भएको छ ।

उखुको भुक्तानी नपाएको भन्दै रौतहट, सर्लाही, कपिलवस्तु र नवलपरासीका तीन सयभन्दा धेरै किसान काठमाण्डौ आएका थिए ।

पोहोर पनि सरकारसँग सहमति गरेर फर्किएका किसानले एक वर्षसम्म रकम नपाएपछि फेरि आन्दोलन गरेका थिए । यसपालि हातमा पैसा लिएपछि मात्रै घर फर्किने बताएका किसानले राजनीतिक अस्थिरताका कारण सहमतिमै घर फर्किन बाध्य भएको बताएका छन् ।

‘हातमा पैसा नपर्दा मन भारी पारेर घर फर्किनुपरेको छ’, उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले भन्नुभयो, ‘२१ दिनभित्र रकम दिने गरी काम भएको नभएको बारे निगरानी राख्ने छौँ ।’ यसपालि उद्योगीको सम्पति रोक्का राखेर पनि रकम उपलब्ध गराउने सहमति भएकाले उखुकाे भुक्तानी पाउने आशा रहेको किसानले बताएका छन् ।

उखु बेचेको पैसा नपाएपछि गएको मङ्सिर २८ गतेदेखि किसानले १६ दिनसम्म काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन गरेका थिए ।  

यस्ताे छ सहमति पत्र–

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया