संखुवासभामा औंसा किराका कारण सुन्तलाकाे उत्पादन घट्यो (फोटो फिचर)

 पुस १४, २०७७ मंगलबार १४:५१:५८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभामा यो वर्ष सुन्तलामा औंसा किरा परेपछि उत्पादन घटेकाे छ । 

औंसा किराका कारण सुन्तला बोटमा नपाकी झर्ने गरेको कृषकहरुको गुनासो छ । साथै फूल फुल्ने समयमा अत्याधिक वर्षा भएका कारण फूल झरेकाले बोटमा दाना कम बसेको खाँदबारी-४ का प्रमोद राईले बताउनुभयो । 

उहाँले सुन्तलाको उत्पादन घटे पनि मूल्य भने बढेको बताउनुभयो । ‘मेरो बगानमा १४/१५ बोट सुन्तला छ । गएको वर्ष ४० हजार रुपैयाँमा बगान नै ठेक्का दिएको थिए । तर यो वर्ष सुन्तला कम फलेकाे छ । खुद्रा बिक्री गर्ने योजना छ ’राईले भन्नुभयो ।

यो वर्षको सुन्तला गएको वर्षहरुको जस्तो रसिलो नभएको र बोटबाट अत्याधिक झरेको राईको भनाइ छ । संखुवासभाकाे खाँदबारी-४ को गैरीपांमा, लोकेपांमा, डाँडा, सेकाहाको तल्लो भेग, खाँदबारी-५ को माल्टा, पाङ्ठा र लेलुवालगायतको ठाउँहरुमा सुन्तला उत्पादन हुने गरेको छ ।

त्यसैगरि सिलिचोङ गाउँपालिकाको माङ्तेवा, याफ', चैनपुर नगरपालिका र मादी नगरपालिकाभित्रका विभिन्न ठाउँलाई सुन्तला उत्पादनका लागि प्रख्यात मानिन्छ । तर यी सबै ठाउँहरुमा सुन्तलामा औंसा किरा लागेपछि उत्पादन घटेको हो । बिहान बगान पुग्दा भुइँ भरि सुन्तला आफैँ झरेको भेटिने गरेको कृषकहरुको गुनासो रहेकाे छ । 

तर, अघिल्लो वर्ष मंसिर, पुस र माघको समयमा प्रतिकेजी ८० देखि ९० रुपैयाँमा पाइने सुन्तला अहिले प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पर्ने गरेको छ । सुन्तलाको उत्पादन घटेका कारणले यस वर्ष मूल्य बढेको खाँदबारी-४ गैरीपांमाका अर्का स्थानीय कृषक प्रताप राईले बताउनुभयो ।

‘सुन्तलाको फूल खेल्ने समयमा हावा बतास लाग्यो, हावाले फूल झारेपछि फल लागेन । त्यसमाथि झन किराले फुलै खाएपछि सुन्तला नै फलेन’ स्थानीय कृषक राईले भन्नुभयो । संखुवासभाभित्रका अधिकांश ठाउँबाट सुन्तलामा किरा लागेको गुनासो आएपछि स्थलगत रुपमा गएर अवलोकन गरेको र सुन्तलाको दानाभित्र औंसा किरा भेटिएको कृषि ज्ञानकेन्द्र संखुवासभाका प्रमुख गोविन्द आचार्यले बताउनुभयो । 

उहाँको अनुसार, गएको वर्षदेखि सुन्तलामा औंसा किरा देखिन थालेको छ । यसको न्यूनीकरणका लागि विभिन्न पहल गरिरहेको छ । औंसा किराले सुन्तलाको केस्रा खान थालेपछि बोटमा नपाकी झर्ने गरेकाे कृषि केन्द्र प्रमुख आचार्यको भनाइ छ । 

जिल्ला कृषि ज्ञानकेन्द्र संखुवासभाको तथ्याङ्कअनुसार, आर्थिक वर्ष ०७५/७६ मा एक हजार ३ सय ८७ मेट्रिकटन र आर्थिक वर्ष ०७६/७७ मा एक हजार ७ सय ९२ मेट्रिकटन सुन्तला उत्पादन भएको देखिन्छ ।  रोग, औंसा किराको प्रकोप र असिना पानीका कारण यस वर्ष सुन्तला उत्पादन घटेको ज्ञानकेन्द्रको भनाइ छ ।

औंसाको प्रकोप बढेपछि सबै चिन्तित

संखुवासभामा गएको वर्षदेखि सुन्तलामा औंसा किरा देखिएपछि कृषकका साथै सरोकारवाला निकाय कृषि ज्ञानकेन्द्र र सुन्तला कार्यक्रमका पदाधिकारीहरु समेत चिन्तित बनेका छन् । सुन्तलामा औंसा किराको प्रकोप बढेपछि काठमाण्डौबाट विज्ञ समूहका टोली केहीदिन अगाडि राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमका प्राविधिक टोली संखुवासभा आउनुभएको थियो । 

राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमका प्रमुख तथा वैज्ञानिक डा. उमेशकुमार आचार्य र वैज्ञानिक रोशन रोक्का संखुवासभा आउनु भएको कृषि ज्ञानकेन्द्र संखुवासभाका प्राविधिक सहायक सरोज रायले जानकारी दिनुभयो । 

उहाँका अनुसार, विज्ञ टोलीले खाँदबारी-४ गैरीपांमा रहेको कृषकहरुको बगानमा पुगेर सुन्तलाको अनुगमन र अध्ययन गरेकाे थियो । जिल्ला प्राविधिक टोली सुन्तला उत्पादन हुने सबै ठाउँमा पुगेर औंसाका बारेमा अध्ययन गरिएको उहाँले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया