साउदी अरेविया

 जेठ १६, २०७५ बुधबार १५:२३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

खाडी तथा मध्यपूर्व भनेर चिनिने अरेवियन क्षेत्रको साउदी अरेविया संसारकै ठूलो तेलको खानी हो । तेलकै कारण साउदी अरेविया संसारका धनी देशमा दरिएको छ । खाडी क्षेत्रका देशहरु मध्येमा सवैभन्दा ठूलो देश पनि हो साउदी अरेविया । मुस्लिम धर्मावलम्बीहरुको पवित्र ठाउँ मक्का, मदिना यसै देशमा छन् । तीर्थयात्राका लागि बर्षेनी ३० लाख भन्दा धेरै ईस्लाम धर्मावलम्वी साउदी अरेविया जान्छन् । 

विश्वमा सवैभन्दा धेरै तेल उत्पादन गर्ने साउदी अरेवियामा कुल भण्डारको २५ प्रतिशत पेट्रोलियम पदार्थ छ । धेरैजसो भूभाग मरुभूमि रहेको साउदी अरेवियाको मुहार पेट्रोलियम पदार्थको भण्डारले नै फेरेको हो । तीनतिरबाट समुद्रले घेरिएको साउदी अरेवियामा खेतीयोग्य जमिन अत्यन्तै न्यून छ । यसको राजधानी रियाद हो । रियाद बाहेक जेद्दा, मक्का, मदिना, दमाम मुख्य शहर हुन् । 

साउदी अरेवियाको मुद्रालाई साउदी रियाल भनिन्छ । १ साउदी रियाल बरावर नेरु ३० को हाराहारीमा हुन्छ । यो विनिमय दर अमेरिकी डलरको घटबढसँगै तलमाथि हुन्छ । 

७० लाख भन्दा धेरै विदेशी कामदार कार्यरत साउदी अरेवियाका नेपालीहरु जुवैल, रियाद, जेद्दा, दमाम, अल खोवर लगायतका शहरमा बिभिन्न काम गर्छन् । नेपाली कामदारहरु यहाँ गाडी चालक, होटलमा सरसफाई मजदुर, कृषि श्रमिक, निर्माण श्रमिकका रुपमा र थोरै ठूला ओहोदामा कार्यरत छन् ।  

साउदी अरेवियामा अरवी भाषा बोलिन्छ । तर तिव्र औद्योगिकरणका कारण व्यवसायिक क्षेत्रमा अंग्रेजी भाषा पनि चलन चल्तीमा छ । हिन्दी पनि सामान्य प्रयोगमा हुन्छ।    

राजतन्त्रात्मक शासन व्यवस्था भएको साउदी अरेवियाको कानुन ईस्लामीक धार्मिक कानुन सारियामा आधारित छ । सारिया अति कट्टर र कठोर कानून मानिन्छ । मुस्लिम धर्ममा गर्न नहुने भनिएका कुनै पनि काम गरेमा साउदी अरेवियामा कडा दण्ड दिईन्छ । त्यसैले कामदारका रुपमा साउदी अरेविया जानेहरुले सारिया कानुन उल्लंघन गर्न नहुने कुरामा विशेष सतर्क रहनुपर्छ । 

साउदी अरेविया अति गर्मी हुने मुलुक हो । नेपालीहरुका लागि साउदी अरेवियाको उच्च तापक्रम सवैभन्दा ठूलो समस्या हो । धेरै गर्मी र खुल्ला ठाउँमा काम गर्नुपर्ने भएकाले साउदी अरेवियाको थोरै कमाई नेपाली कामदारका समस्या हुन् । तातो ठाउँमा काम गरेर कोठामा फर्केपछि चिसो एयर कण्डिसनर चलाएर सुत्दा धेरै नेपालीको ज्यान गुमेको छ । धेरैजसोको ज्यान श्वासप्रश्वास सम्वन्धी समस्याकै कारण जाने भएकोले साउदी अरेविया जान चाहनेहरुले कोठामा सुत्दा अपनाउनु पर्ने सावधानीका बारेमा थाहा पाउनु पर्छ ।

कमाई धेरै नभए पनि साउदी अरेविया नेपाली कामदारको तेश्रो ठूलो गन्तव्य हो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २०६९ बैशाख मसान्तसम्ममा ४ लाख ७६ हजार ३ सय ८ जना नेपाली श्रम स्वीकृति लिएर साउदी अरेविया गएका छन् ।  

साउदी अरेवियामा झण्डै ८० हजार नेपाली महिला कार्यरत छन् । तर गैर कानुनी रुपमा भारतको बाटो हुँदै गएका हुनाले साउदीमा काम गर्ने महिलाको आधिकारिक तथ्यांक छैन । 

बिहीवार र शुक्रवार साउदी अरेविया पुग्ने गरी नजानु राम्रो हुन्छ । शुक्रवार सार्वजनिक बिदा हुने साउदी अरेवियामा बिहीवार पनि सामान्यतया नेपालबाट आउने कामदारलाई लिनजाने चलन छैन । त्यसैले बिहीवार वा शुक्रवार पुग्ने कामदार एकदुई दिन एयरपोर्टमै अलपत्र पर्छन् । साउदी अरेवियामा चुरोट, सुर्ती, बिँडी जस्ता सूर्तिजन्य सामान लैजान प्रतिवन्ध छ ।  

नेपालको दूतावास साउदी अरेवियाको राजधानी रियादमा छ । कुनै समस्या परेमा नेपाली दूतावासमा सम्पर्क गर्न सकिन्छ । दूतावासको फोन नम्वर +966-11- 4611108/ 4645170  हो । थप जानकारी रियादस्थित नेपाली दूतावासको वेभसाईट https://sa.nepalembassy.gov.np/contact/  मा हेर्न सक्नुहुन्छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया