भारतले दियाे दुई काेराेना खाेपलाई आपत्कालीन प्रयाेग अनुमति

 पुस १९, २०७७ आइतबार १३:४८:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

काठमाण्डाै – भारतको औषधि नियामक निकायले कोभिड १९ विरुद्धका दुई वटा खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित को–भ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको हो । ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (डीसीजीआई) ले कोभिसिल्ड खोप ७० दशमलव ४२ प्रतिशत प्रभावकारी रहेको जनाएको भारतीय सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

डीसीजीआईका निर्देशक डाक्टर बीजी सोमानीले को–भ्याक्सिन सुरक्षित रहेको र प्रतिरक्षा क्षमता बलियो बनाउन सक्षम रहेको बताएका छन् । 

यसअघि शुक्रबार (अस्ति) सिरम इन्स्टिच्युटको कोभिशिल्ड खोपको लागि समेत यस्तै स्वीकृति दिइएको थियो । विज्ञ समूहले खोपको सुरक्षा र प्रतिरक्षाको तथ्याङ्क मूल्याङ्कन गरेर सार्वजनिक हितका लागि आपत्कालीन स्थितिमा प्रतिबन्धित उपयोगका लागि अनुमति दिन सिफारिस गरेको थियो । अन्य खोपको परीक्षण पनि जारी रहने  बीबीसीमा उल्लेख छ ।

कोभिशिल्ड र को–भ्याकसिन दुवै खोप दुई खेपमा दिइनेछ । यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने छ । भारतमै कैडिला हेल्थ केयरको अर्को एउटा खोपलाई समेत तेस्रो चरणको मानव परीक्षणका लागि अनुमति दिइएको छ । भारतले यो वर्ष ३० करोड मानिसलाई खोप दिने योजना बनाएको छ । 

याे घाेषणापछि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले यस खाेजमा संलग्न वैज्ञानिकहरूलाई बधाई दिएका छन् । 

उनले भनेका छन्, 'एक जाेसले भरिएकाे लडाइँलाई मजबुत गर्नकाे लागि निर्णायक माेड ! डीसीजीआईकाे सिरम इन्स्टिच्युट अफ इण्डिया र भारत बायाेटेककाे खाेपलाई मञ्जुरी दिनु एक स्वस्थ र काेभिडमुक्त देश बनाउन सहयाेग गर्ने कदम हाे । भारतलाई बधाई । हाम्रा मेहनती वैज्ञानिक र नवप्रवर्तनकर्ताहरूलाई बधाई ।' 

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया