वैशाखमा हुने चुनाव रोकिँदैन : प्रधानमन्त्री ओली

‘सरकारलाई बदनाम गराउन मात्रै समय बरबाद गरेकाले प्रतिनिधि सभा भङ्ग गर्नुपर्‍याे’

 पुस १९, २०७७ आइतबार १८:४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखमा घोषित चुनाव नरोकिने बताउनुभएको छ । काठमाण्डौमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) काे आफू निकटकाे भेलामा प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा संसद् पुनर्स्थापना हुन नसक्ने र चुनाव भएरै छाड्ने दाबी गर्नुभएको हो ।

कतिपयले चुनाव हुँदैन भनेर भ्रम फैलाइरहेको भन्दै उहाँले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मिति वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले चुनावलाई कसैले पनि पर सार्न नसक्ने दाबी गर्नुभयो । प्रतिनिधि सभाको चुनाव नेपाली नागरिक र देशको आवश्यकता भएकाले चुनाव तोकिएकै समयमा हुने उहाँको भनाइ छ । 

देशलाई अलमलमा बस्न नदिन चुनाव आवश्यक रहेको उहाँको भनाइ छ । पार्टीभित्र सरकारलाई काम गर्न नदिने, बदनाम गराउने, आन्दोलन ध्वस्त पार्न, राष्ट्रियता कमजोर पार्न, नक्सा छापेको तथा संविधान संशोधन भएको बहानामा गुटबन्दी गरेकाले सङ्गठन गतिशील नभएको प्रधानमन्त्री ओलीले बताउनुभयाे । 

पार्टीभित्रै बसेर आन्दोलनको बदनाम गरेको र सरकारको कामको बदनाम गराउन मात्रै समय बरबाद गरेकाले प्रतिनिधि सभा भङ्ग गर्नुपरेको उहाँकाे भनाइ छ ।  प्रधानमन्त्री ओलीले आजै सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन गर्नुपरेको कारणको जवाफ पठाएको समेत बताउनुभयो । 

प्रधानमन्त्री ओलीले पार्टीको चुनाव चिह्न सूर्य आफूहरूले नै पाउने बताउनुभयो । उहाँले नेपालको विदेश नीति सन्तुलित हुने र भौगोलिक अखण्डताको रक्षा गर्दै राष्ट्रिय हितलाई सुरक्षित गर्न अघि बढ्ने पनि बताउनुभयो ।

यस्तै उहाँले पार्टी फुटाउन र आफूमाथि खनिन खुमलटारमा मात्रै दुई सय ८० पटक बैठक बसेको बताउनुभयो । उहाँले प्रचण्ड–नेपाल समूहलाई आफ्नो समूहमा आए अपराध माफ गरिदिनेसमेत बताउनुभयो ।

आफूले प्रचण्डलाई अध्यक्ष पद कायमै राखेर कार्यकारी अधिकार मात्रै हटाएको भन्दै उहाँले अरू वरिष्ठ नेताहरू पनि जस्ताको त्यस्तै पदमा रहेका र आफ्नो समूहको बैठकमा सहभागी हुन आग्रह गर्नुभएको हो ।

यसअघि गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएको थियो । संसद् विघटन पनि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएकाे छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया