'भारतमा खोप सुरु हुँदा नेपालमा पनि लगाउने गरी तयारी भइरहेको छ'

 पुस २१, २०७७ मंगलबार ९:९:३ | डा. खेम कार्की
unn.prixa.net

नेपालमा आपतकालीन अवस्थामा खोप लाउने अथवा नयाँ औषधि प्रयोग गर्ने खालको कानुन नै थिएन । अहिले हामीले अध्यादेशमार्फत कानुनी संरचनाहरु तयार गरेका छौँ । संसारमा बनेका सबै खोप अहिले आपतकालीन अवस्थामा प्रयोग गर्न मात्रै स्वीकृति दिएको छ । त्यस्तो किसिमको खोप नेपालमा पनि ल्याउन सक्ने अध्यादेश ल्याइएको छ । त्यसैलाई टेकेर उच्चस्तरीय समिति पनि बनेको छ । 

यो समितिले खोप उत्पादन गर्ने विभिन्न देशका कम्पनीहरुसँग प्रत्यक्ष सम्पर्क बढाएको छ । विभिन्न देशका खोप कम्पनी र त्यहाँको सरकारसँग खरिदको लागि पूरा तयारी गरेका छौँ । २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण र वितरण गर्न सक्ने भएकाले त्यो खोप किन्नका लागि सरकारी तवरबाट प्रयास भइरहेको छ । 

सरकारी तवरबाट ल्याउन सक्ने भए पनि निजी आयातकर्ताहरुलाई आयात गर्न अनुमति दिने गरी औषधि व्यवस्था विभागलाई भन्दै आइरहेका छौँ । त्यसैले अब चाँडोभन्दा चाँडो खरिद हुने संभावना छ ।  सरकारको योजना के छ भने भारतले खोप लगाउन सुरु गर्दा हामीले पनि सुरु गर्नुपर्ने अवस्था सृजना हुन्छ ।

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी, कर्मचारी, सुक्षाकर्मीहरुलाई प्राथमिकतामा राखिएको छ र त्यहीअनुसार तयारी भैरहेको छ । भारतमा सुरु गर्दा नेपालमा पनि खोप लगाउन सुरु गर्ने तयारी भएको छ र त्यसमा भारत सरकार र शेरम इन्स्टिच्युट पनि सकारात्मक देखिएको छ । 

केही खोपहरु नेपालमा छिट्टै प्राप्त हुन्छ भन्ने हाम्रो विश्वास छ । आन्तरिक रुपमा गर्नुपर्ने व्यवस्थापनको सबै तयारी सकिएको छ । भारत सँगसँगै नेपालमा प्राथमिकताका आधारमा पहिले जम्मा जनसंख्याको ३ प्रतिशत भनेको स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु पर्नुहुन्छ, उहाँहरुलाई खोप दिने गरी तयारी गरिएको छ । त्यसैले अब हामीले खरिद गर्न पाउनेबित्तिकै किन्ने अवस्थामा छौँ । 

कोभ्याक्स सुविधाबाट २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी आउने खोप सरकारले निश्चित गरिसकेको छ । तर त्यो कहिले आउँछ भन्ने टुंगो छैन । मित्र राष्ट्रका नागरिकले खोप पाउँदा नेपालले पनि पाउनुपर्यो भनेर यो पहिलो चरणमा आउने खोपमा नेपाल सरकारले खरिद गरेको खोप पनि पर्छ भन्ने लाग्छ । गुणस्तर र मूल्यको आधारमा भारत, चीन, रुस जुन उपयुक्त हुन्छ त्यही देशबाट ल्याउँछौँ । तर कुन देशबाट ल्याउने भन्ने कुनै टुंगो लागेको छैन ।  

सबैलाई खोप लगाउन ६ महिना लाग्न सक्छ

खोपको लागि ४८ देखि ५० अर्ब रुपैयाँ बजेट अनुमान गरेका छौँ । त्यहीअनुसार सरकारले आफ्नो काम अघि बढाएको छ । र सरकारले दिने खोप निःशुल्क हुन्छ । अहिलेसम्म बनेका खोप एक व्यक्तिले दुई वटा लगाउनुपर्ने हुन्छ । पहिलो खोप लगाएको झण्डै तीन हप्तापछि दोस्रो खोप लगाउनुपर्ने हुन्छ । त्यसैले हाम्रो ७२ प्रतिशत जनसंख्यामा खोप लगाउन झण्डै ६ महिनाको समय लाग्ने हाम्रो अनुमान छ । र त्यही अनुसार खोप केन्द्र, खोप लगाउने व्यक्तिहरु तयारी गरिनेछ । 

पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुलाई ३ हप्तासम्म पहिलो डोज लगाइसकिनेछ । त्यसपछि ५५ वर्ष नाघेका अरु रोग भएका व्यक्तिलाई प्राथमिकतामा राखेर खोप दिइनेछ । सामान्यतया पहिलो २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप सरकारले ल्याए अर्को २० प्रतिशत कोभ्याक्सबाट ल्याउन सकिन्छ र ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्दा कोरोना नियन्त्रणमा जान्छ होला । जनसंख्याको ६० प्रतिशत भन्दा बढीले खोप लगाइसकेपछि अरु खोप नलगाएकालाई पनि सुरक्षा प्रदान गर्छ भन्ने सिद्धान्त हो । 

अहिले कोरोना सर्ने दर हेर्दा ६० प्रतिशत जनसंख्यामा खोप लगाउन सके नियन्त्रण गर्न सकिन्छ भन्ने वैज्ञानिक आधार रहेको छ । तर नयाँ खालको कोरोना आयो भने यो फरक हुन सक्छ । पछिल्लो ७२ प्रतिशतको कुरा गरिरहेका छौँ । यसलाई एकसय प्रतिशत मान्ने हो भने अहिले बालबालिका र निको भएकालाई खोप लगाउनु पर्दैन ।  खोप लगाउन नमिल्ने भन्ने छैन, निको भएकाहरुलाई पनि खोप लगाउँदा प्रभावकारिता देखिएको छ । र संक्रमित भइसकेका व्यक्तिलाई सामान्यतया ६ महिनासम्म पुनः सङ्क्रमण नहुने वैज्ञानिकले भनेका छन् । 

नयाँ भाइरस भएकाले यसको इम्युनिटी कहिलेसम्म रहन्छ भन्ने कुरा निश्चित गर्न भने सकिँदैन । यद्यपी कम्तीमा एक वर्षसम्म यसको इम्युनिटी रहन्छ भन्ने अहिलेको बुझाई छ । तर, यो अझै अध्ययनकै क्रममा रहेकाले यसको अन्तिम नतिजा आउन समय लाग्छ । 

पछिल्लो समय कोरोनाको सङ्क्रमण कसरी विकसित हुँदै जान्छ, त्यही अनुसार हामीले  हाम्रा योजना कार्यक्रमलाई परिस्कृत, परिमार्जित गर्नुपर्ने स्थिति बन्न सक्छ । अहिले महामारी नियन्त्रणकै अभियान अन्तर्गत खोपको कुरालाई हामीले बुझ्न जरुरी छ । 

जोखिम टरेको छैन

संक्रमितको संख्या घटेको हिसाबले धेरैलाई कोरोनाको जोखिम सकियो भन्ने लाग्नु स्वभाविक हो । तर, कोरोनाको भाइरस हाम्रो समुदायबाट बाहिर गएको छैन । हामीले मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजर लगाउन र हात धुन छोड्यौँ भने फेरि यो फैलिन सक्छ । 

जोखिम जतिबेला पनि छ । भाइरस हामी वरपर नै रहेकाले फेरि भाइरस पहिलेको जस्तै फैलिन सक्छ । तर, अहिले संख्या घटेकाले केही सहज भयो । अब फेरि आउँदैन कि भनेर भन्ने स्थिति छैन । यूरोपमा एक पटक सङ्क्रमण पूरै घटेर फेरि बढ्यो । त्यसैगरी नेपाल, भारत लगायतका दक्षिण एसियाका देशहरुमा आउन सक्ने सम्भावना प्रशस्तै छ । त्यसलाई हामी दोस्रो चरण भनेर भन्ने गर्छौं । किनभने पहिलो चरणको अवस्था पार गरेका छौँ । 

सङ्क्रमण घटे पनि भाइरस हाम्रो समुदायमै छ । त्यसैले कोरोना छैन भनेर पहिलेकोजस्तै व्यवहार गर्नु हुँदैन । हिजोको जस्तो हात मिलाउन जाने, मुख जुधाएर कुरा गर्ने क्रियाकलाप कम गर्नुपर्छ । दूरी कायम राख्ने, मास्क लगाउने कुरालाई निरन्तरता दिँदै यो नयाँ जीवनको सामान्य कुरा हो भनेर अहिले हामीले जुन व्यवहारमा परिवर्तन गरिहेका छौँ, त्यसलाई निरन्तरता दिनुपर्छ । 

यो कुरालाई हामीले सुरुदेखि नै उठाएका थियौँ । यसलाई हामीले निरन्तरता दिन सक्यौँ भने कोरोनालाई साँच्चै नै नियन्त्रण गरेर फेरि अर्को चरणको सङ्क्रमण आउन नसक्ने बनाउन सक्छौँ । कोरोना सङ्क्रमण आयो फेरि गयो भनेर व्यवहारमा जे गरे पनि हुन्छ भनियो भने दोस्रो चरणको सङ्क्रमणले नयाँ रुप लिन सक्ने संभावना बढी हुन्छ ।  

प्रदर्शन र भीडभाडले झन् जोखिम

मैले पटक–पटक भन्ने गरेको छु, कि अहिले हामीले सभा, जुलुस, भोज, भतेर, पाटी गर्दा जनस्वास्थ्यको मापदण्ड पालना गरेका छैनौँ । कोरोना नियन्त्रण भएन भनेर हिजो सरकारलाई गाली गर्ने साथीहरुले गम्भीर भएर सोच्नुपर्यो । कोरोना नियन्त्रण भएन भन्ने अनि भिडभाड हुने खालका कामहरु गरिरहनुभएको छ ।

यसले नियन्त्रणमुखी कोरोनालाई फेरि बढाउन सक्ने संभावना छ । मैले सभा, जुलुस नगर्नुहोस्, आफ्ना अभिव्यक्तिलाई व्यक्त नगर्नुहोस् भन्न खोजेको होइन । तर सतर्कता अपनाउने कुराहरुमा चाहिँ ध्यान दिनुपर्छ । काठमाण्डौ भन्दा बाहिर मानिसले मास्क लगाउन छोडिसके र यो मास्क लगाउन छोड्नु भनेको हाम्रो लागि गम्भीर भुल हुनेछ । 

नयाँ स्वरुपको कोरोना आएको पुष्टि भएको छैन

भाइरसमा आफैँ संरचनागत परिवर्तन हुँदै जान्छ र नयाँ खालको यही कोरोना समुदायमा सर्कुलेट भइरहेको छ । यही कोरोनामा नयाँ अर्को संरचना भएको कोरोना पनि आउन सक्छ । त्यस्तो भइदियो भने अहिले बेलायत लगायत युरोपियन देशहरुले भोग्नुपरेको समस्या हामीले पनि भोग्नुपर्ने स्थिति बन्न सक्छ । 

नेपालमा नयाँ खालको कोरोना छ कि छैन भन्ने विषयमा गरिएको परीक्षणको रिपोर्ट आउन भने बाँकी छ । नयाँ खालको कोरोनाको के संरचना परिवर्तन भयो भनेर हेर्ने हो । हामीसँग पर्याप्त उपकरण कम छ । स्थानीय स्तरमा थोरै ल्याबमा गर्न सक्ने भए पनि यसको विश्वसनीयताको लागि अन्तर्राष्ट्रिय ल्याबमा नमूना पठाएका छौँ । तर नयाँ भाइरस नेपालमा प्रवेश गरेको भन्ने पनि छैन । 

खासगरी नेपाललाई अहिलेको जोखिम भनेको बेलायतबाट नेपाल आउने मानिसबाट सङ्क्रमण भित्रिने संभावना छ । त्यही भएर नयाँ भाइरस देखिएको देशबाट नेपाल आउन नदिने र नेपालमा आएकाहरुलाई आइसोलशन र निगरानीमा राखिएको छ । त्यसैले अहिले नै नेपालमा नयाँ भाइरस आइसक्यो भन्न सकिदैन, किनकी त्यसको रिजल्ट आएको छैन, तर संभावना छैन भन्न पनि सकिँदैन । 

अहिलेकै स्वास्थ्य मापदण्ड पर्याप्त छ

अहिले बेलायतमा देखिएको नयाँ भाइरसलाई ‘एन फाइब जिरो वान वाइ’ नाम दिएको छ । त्यो भनेको हाम्रो शरीरमा सङ्क्रमण हिजो ढिलो हुन्थ्यो भने अहिले छिटो सङ्क्रमण हुन्छ । यसले धेरै मानिसलाई एकैचोटी सङ्क्रमण फैलाउन सक्छ । एकदम छिटो सङ्क्रमण गर्ने खालको पनि छ । वैज्ञानिकहरुले भने अनुसार पहिलेको भन्दा ७० प्रतिशत बढी यसको सङ्क्रमण फैलिन सक्ने संभावना देखिएको छ । 

नयाँ भाइरस देखिए पनि त्यसको असर पहिलेको जस्तै रहेको छ । अहिले जुन जनस्वास्थ्यको मापदण्ड भनेका छौँ, यतिले नै भाइरस नियन्त्रण गर्न काफी हुन्छ । स्वास्थ्य मापदण्ड पालनालाई जीवनशैलीको रुपमा विकास गर्न सकियो भने हामी सुरक्षित रहन सक्छौँ ।

कोरोना नियन्त्रण गर्न हामीलाई खासै गाह्रो छैन, किनभने म आफैँ पनि यसको उदाहरण हो । ७–८ महिनाको समय अवधिमा मसँग काम गर्ने र मेरो वरपरका सवै मानिसलाई सङ्क्रमण हुँदा पनि मलाई सङ्क्रमण भएको छैन । मैले नियमित मास्क लगाएको छु । 

त्यसैले मास्कलाई निरन्तर र राम्रोसँग प्रयोग गर्नुपर्यो । मास्क लगाउने भनेको नाक र मुख राम्रोसँग छोप्ने गरी लगाउने हो । नाकको डाँडीमा मास्क भाँचेर कसैको थुकको छिट्टा नछिर्ने गरी लगाइयो भने हामीले कोरोना नियन्त्रण गर्न कोलाहल गर्नु पर्दैन । त्यसैले हरेक व्यक्तिको उसको जीवनशैलीमा भरपर्ने कुरा हो भन्ने लाग्छ मलाई ।

नयाँ स्वरुपको भाइरस र खोप 

नयाँ स्वरुपको भाइरसको अध्ययन गर्दा के देखिएको छ भने, अहिले बनेको खोपले भाइरस नियन्त्रणमा काम गर्छ । तर, अहिले बेलायतको कुरा धेरै चर्चामा आयो किनभने, बेलायतबाट अरु धेरै मानिसमा सर्ने भयो र त्यहाँ धेरैलाई सरेको हुनाले चर्चामा आयो । नयाँ स्वरुप आउँदा पहिलेको भन्दा खतरनाक भएर आएको भए त्यो धेरै नै चर्चा हुन्थ्यो । तर, कतिपय ठाउँमा अहिलेको भन्दा पनि कमजोर किसिमको पनि आएको छ । 

यो भाइरसको प्रकृति हेर्दा यसले नयाँ नयाँ संरचनाहरु हरेक वर्ष अथवा हरेक ठाउँमा बनाउन सक्छ । भाइरसको परिवर्तनको स्वरुपलाई अहिलेको खोपले काम गर्ने खालको देखिएको छ । कोरोना हाम्रो समुदायमै रहेको र हरेक वर्ष यसले नयाँ किसिमको स्वरुप ल्याउने सक्ने भएकाले खोप परिवर्तन गरिररहनुपर्ने परिस्थिति बन्ने हो कि भन्ने अहिले वैज्ञानिकहरुको शंका छ । तर, अहिलेसम्मको नयाँ भाइरसलाई भने अहिले बनेको भ्याक्सिनले नै काम गर्छ।  

(स्वास्थ्य मन्त्रालयका निवर्तमान विज्ञ सल्लाहकार डा. कार्कीसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: माघ ४, २०७७

डा. खेम कार्की

डा. कार्की स्वास्थ्य मन्त्रालयका निवर्तमान विज्ञ सल्लाहकार हुनुहुन्छ । 

 

तपाईको प्रतिक्रिया