काठमाण्डौमा वायु प्रदूषण अहिलेसम्मकै उच्च, सकभर घरबाहिर ननिस्कन सरकारको आग्रह

 पुस २१, २०७७ मंगलबार १६:३८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकाको वायु प्रदूषण (हावाकाे गुणस्तर सूचकाङ्क मानक) जनजीवनका लागि घातक तहमा पुगेको छ । काठमाण्डौ उपत्यकामा साेमबार (हिजो) देखि वायु प्रदूषण बढेको र प्रदूषणको अवस्था अहिलेसम्मकै उच्च तहमा पुगेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा यसअघि वायुको गुणस्तर एअर क्वालिटी इण्डेक्स (एक्वुआई) अधिकतम दुई सय नजिक पुगेकोमा साेमबार (हिजो) तीन सय नाघेको उहाँले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले स्वास्थ्यका लागि एक्वुआई २५ हुनुपर्ने बताएको छ भने ५० सम्म हुनुलाई राम्रो मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील र २ सय सम्म पुगे सबैका लागि अस्वस्थ मानिन्छ । एक्वुआई ३ सय पुग्नु सबैका लागि घातक रहेको जोशीले बताउनुभयो ।

चिसो, घाम तथा हावा नलागेको कारण वायुमण्डलमा भएका धुलो तथा धुवाँका कणहरू सतहको नजिक थिग्रिएकाले पनि प्रदूषण बढेको वातावरण विभागले जनाएको छ ।

प्रदूषणका कारण आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउनेलगायतका लक्षण अल्पकालीन रूपमा देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्ने जनस्वास्थ्यविद् बताउँछन् । एअर क्वालिटी इण्डेक्स ३ सय भन्दामाथि पुगेमा सरकारले आपत्कालीन अवस्था घोषणा गर्न सक्छ ।

अघिल्लो वर्ष भारतको दिल्लीमा प्रदूषण बढेपछि जनस्वास्थ्य सङ्कटकाल लगाइएको थियो भने चीनको बेइजिङमा मासु पोल्न नपाइनेलगायतका कडा नियम जारी गरेको थियो ।

यस्तो प्रदूषणको समयमा आमनागरिक सकभर घरमा बस्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने तथा जोखिम वर्गलाई विशेष ख्याल गर्नुपर्ने जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले बताउनुभयो । 

यसैबीच सरकारले काठमाण्डौसहितका सहरमा वायु प्रदूषण घातक तहमा पुगेकाले सकभर घरबाहिर ननिस्कन आग्रह गरेको छ । वातावरण विभागले सूचना निकालेर बालबालिका वृद्धवृद्धा, दम, खोकी, श्वासप्रश्वासलगायतका समस्या भएका व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो । अरू व्यक्ति घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन विभागको सुझाव छ ।

काठमाण्डौबाहिरका नेपालगञ्ज, विराटनगरलगायतका सहरमा पनि प्रदूषण बढेकाले विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यस्तै आगो बाल्दा प्रदूषण झनै बढ्ने र अवस्था गम्भीर हुन सक्ने भएकाले आगो नबाल्न पनि विभागको अनुरोध छ ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया