भ्रष्टाचार आरोपमा चीनका पूर्व उद्योगपतिलाई मृत्युदण्डको सजाय सुनाइएकोप्रति आलोचना

 पुस २२, २०७७ बुधबार १४:१७:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनका एक पूर्व उद्योगपति रहेका लाई शिओमिनलाई सुनाइएको मृत्युदण्ड सजायलाई लिएर कैयौँ मानव अधिकारकर्मीहरूले आलाेचना गरेका छन् । उनीहरूले ‘शिओमिनको अपराधका लागि यो निकै कडा सजाय भएको’ बताएका छन् । 

लाई शिओमिनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो । उनीमाथि झण्डै दश वर्षको समयमा २ सय ८० मिलियन अमेरिकी डलर बराबरको भ्रष्टाचार गरेकाे आरोप छ । 

उद्योगपति शिओमिनलाई सुनाइएको सजाय राष्ट्रपति सी जिनपिङको ‘भ्रष्टार विरोधी अभियान’ को हिस्सा भएको र यस अभियानअन्तर्गत कसैलाई सुनाइएको ‘अहिलेसम्मकै कठोर सजाय’ भएको बताइएको छ । 

चिनियाँ अधिकारीहरूका अनुसार लाई शिओमिनले ह्युआरोंग एसेट म्यानेजमेन्ट कम्पनीको अध्यक्ष रहँदा अपराध गरेका हुन् । उनले सन् १९९९ मा यस वित्तीय कम्पनीको स्थापना गरेका थिए । 

मङ्गलबार चिनियाँ सहर तियानजिनको एक अदालतले लाई शिओमिनलाई सजाय सुनाउँदै ‘उनको अपराधले देशलाई भारी क्षति पुगेको’ बताएको थियो ।

तर मानव अधिकार सङ्गठनहरूले भने शिओमिनलाई सुनाइएको सजायले अन्तर्राष्ट्रिय मानव अधिकार मानकहरुलाई सम्मान नगर्ने बताएका छन् । 

ह्युमन राइट्स वाचका लागि एसियाका उपनिर्देशक पिल रोबर्टसनले बीबीसीसँग भने, ‘घुस लिएको आर्थिक अपराधका लागि मृत्युदण्डको सजाय दिनु भनेको चीनले अन्तर्राष्ट्रिय मानव अधिकार मानकप्रति गरेको प्रतिबद्धताको अवहेलना हो । उनको मृत्युदण्डको सजाय जेलवासमा बदलिनुपर्छ ।’   

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया