ओलीको ठाउँमा म भएको भए पहिल्यै राजीनामा दिन्थेँ : वामदेव गौतम

 पुस २३, २०७७ बिहिबार १३:३८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारको कारण अहिलेको समस्या आएको दाबी गर्नुभएको छ । 

राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यसमेत रहनुभएका गौतमले प्रधानमन्त्रीले त्याग गर्न सकेको भए अहिले पार्टी पनि नफुट्ने र प्रतिनिधि सभा विघटनको अवस्था पनि नआउने बताउनुभयो । 

‘पार्टी जोगाउनको लागि उहाँको निम्ति अवसर थियो, त्याग गर्न सक्नुपर्थ्याे । त्यो ठाउँमा म भएको भए अविश्वासको दर्ता गर्नुअघि राजीनामा दिन्थेँ । त्यसले पार्टी एकता जोगिन्थ्यो र इतिहासमा एउटा राम्रो उदाहरण पनि लेखिन्थ्यो’, गौतमले भन्नुभयो ।  

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले ४३ वर्षदेखि सङ्गत गरेको र एउटा गतिलो मित्र मान्ने गरेको तर अहिले यति ठूलो निर्णय गर्दा ओलीले आफूलाई एक पटक पनि नसोधेकोमा गौतमले दुखेसो पोख्नुभयो । 

‘अहिले प्रतिनिधि सभा विघटन गर्दा मलाई एक पटक पनि सोध्नुभएन । यो निर्णय हुँदैछ भनेर मलाई थाहा थिएन’, गौतमले भन्नुभयो, ‘मलाई अविश्वासद्वारा बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्य हुनेवाला छ भनेर पटक–पटक चेतावनी दिनुभएको थियो, आखिरमा उहाँले त्यो गरि छाड्नुभयो ।’    

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • सुरेशचन्द्र घिमिरे

    Jan. 7, 2021, 6:51 p.m.

    प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति चाेर ढाेकाबाट राष्ट्रिय सभामा छिरेर अरूलाई नैतिकता पढाउँदा अल्लि बढी नै भएन र कमरेड ।

  •  0 Reply

तपाईको प्रतिक्रिया