अमेरिकाको क्यापिटलमा ट्रम्प समर्थकले मच्चाएको ‘उपद्रो’, के–के भयो ?

 पुस २३, २०७७ बिहिबार १४:३०:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले बुधबार मध्याह्न वाशिङ्गटनको क्यापिटल हिल क्षेत्रमा प्रदर्शन गर्दै प्रहरीसँग भिडे ।  

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सन् २०२० को चुनावमा जितको प्रमाणपत्र नमिलोस् भन्नका लागि यो भिडले अमेरिकी कांग्रेसको कारबाही रोक्न चाहेको प्रेरित हुन्छ । 

सुरुदेखि अहिलेसम्म के–के भयो ?

राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई क्यापिटलमा जान र नोभेम्बर २०२० को चुनावी नतिजा उल्ट्याउन आह्वान गरेपछि यो आक्रमण भएको हो । 

प्रदर्शनकारीको भिड सिनेटसम्म पुग्न सफल भयो जहाँ केही मिनेटअघि चुनाव परिणाम प्रमाणित गरिएको थियो ।

भिडबाट निस्केको एक व्यक्ति मञ्चसम्म पुगे, एक रिपोर्टकाअनुसार ती व्यक्तिले चिच्याएर भने, ‘त्यो चुनाव डोनाल्ड ट्रम्पले जितेका थिए ।’

आधिकारिक रुपमा यूएस क्यापिटल हिंसामा अहिलेसम्म चार जनाको ज्यान गएको छ । तीमध्ये एक ‘ट्रम्प–समर्थक’ महिलाको प्रहरीको गोली लागेर ज्यान गएको थियो, अस्पताल लैजाँदा गर्दा उनको ज्यान गएको थियो । प्रहरीकाअनुसार बाँकी तीन जनाको निधन ‘मेडिकल इमर्जेन्सी’ का क्रममा भयो ।  

वाशिङ्गटन डीसी प्रहरीका एक वरिष्ठ अधिकारीले प्रहरीले दुई वटा पाइप बम भेटाएको बताएका छन् । भेटिएका बममध्ये एउटा डेमोक्रेटिक नेशनल कमिटी र अर्काे रिपब्लिकन नेशनल कमिटीको बाहिरपट्टि राखिएको थियो । प्रहरीले अरु केही हतियार पनि फेला पारेको छ । 

डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको भिडलाई ‘निकै खास’ बताए र उनीहरुको प्रशंसा गरे । राष्ट्रपति ट्रम्पले ‘चुनावमा व्यापक धाँधली भएको’ निराधार दाबी गर्दै हिंसालाई उचित ठहर गरे । 

हिंसाका क्रममा एक भिडियोमा डोनाल्ड ट्रम्पले प्रदर्शनकारीलाई घर फर्किन अपिल गरेका थिए, जसलाई पछि ट्विटर, फेसबुक र युट्युबबाट हटाइएको थियो । तर त्यस भिडियोमा ट्रम्पले चुनावमा धाँधली भएको झुट्टा दाबी गर्नुले नै उनका समर्थक भड्किएको बताइएको छ । 

ट्विटर, फेसबुक र इन्स्टाग्रामले यस हिंसापछि राष्ट्रपतिको आधिकारिक एकाउण्ट बन्द गरेको छ । यी सामाजिक सञ्जाल वेबसाइट्सकाअनुसार– ‘ट्रम्पले मानिसलाई भड्काइरहेका छन् र आफ्ना दाबीमार्फत उनीहरुलाई भ्रमित गराइरहेका छन् ।’ साथै फेसबुकले प्रदर्शनको सबै भिडियो र फोटो बेवसाइटबाट हटाउने बताएको छ । 

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पसँग ‘यस घेराबन्दीको अन्त्य गर्न माग’ गरेका छन् । विलमिङ्टनमा भाषणाका क्रममा बाइडेनले भने, ‘यो विरोध होइन । यो उत्पातलाई विश्वले हेरिरहेको छ ।’ अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशले पनि यस हिंसालाई उत्पात र विद्रोहको संज्ञा दिएका छन् । 

अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले भने, ‘इतिहासले क्यापिटलमा भएको हिंसालाई राष्ट्रको अपमानको रुपमा याद राख्नेछ । यो हिंसाबाट हैरान हुनुपर्ने कारण छैन । लगभग दुई महिनादेखि तयारी थालिँदै थियो । एक राजनीतिक दल र उनका समर्थक मिडियाले सत्यता नदेखोस् भन्ने माहोल बनाइरहेका थिए ।’

क्यापिटलमा प्रदर्शनकारीद्वारा गरिएको हङ्गामाको चार घण्टापछि अधिकारीहरुले ‘क्यापिटल पूर्णरुपमा सुरक्षित रहेको र जो बाइडेनको जित प्रमाणित गर्ने कारबाही सुरु गर्न गइरहेको’ घोषणा गरे ।

क्यापिटलमा ट्रम्प–समर्थक घुस्नु अमेरिकी इतिहासमा सबैभन्दा खराब सुरक्षा उल्लङ्घन भएको बताइएको छ । क्यापिटलबाट भिड बाहिर निस्किएपछि सबै सिनेटरहरूलाई बाइडेनको जितको प्रमाणीकरण गर्नका लागि फेरि सिनेट कक्षमा ल्याइएको थियो । 

उपराष्ट्रपति माइक पेन्सको सम्बोधनबाट संयुक्त–सत्रको सुरुवात भयो । उनले भने, ‘यो अमेरिकी इतिहासमा एक कालो दिन हो । यो ऐतिहासिक क्षेत्रलाई बचाउनका लागि आफ्नो ठाउँ नछोड्नेप्रति हामी आभारी छौँ । जसले क्यापिटलमा कहर निम्त्याउन चाहे, उनीहरुले जित्न सकेनन् ।’

यसै क्रममा वाशिङ्टन डीसी प्रहरीका प्रमुख रोबर्ट कोनटीले भने, ‘प्रहरीले ५० भन्दा धेरैलाई गिरफ्तार गरेको छ । अधिकांशलाई कर्फ्युको उल्लङ्घनको आरोपमा गिरफ्तार गरिएको हो ।’

अमेरिकी नेता इल्हान ओभर र एलेक्साण्ड्रिया ओकासियो कोर्टेजले डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको कारबाही हुनुपर्ने बताएका छन् । 

अमेरिकी क्यापिटल भवनको चारैतर्फ सडकमा बाक्लो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ । वाशिङ्गटनका मेयरले पूरै रातका लागि कर्फ्यु लगाएका छन् । अमेरिकाको राजधानी वाशिङ्गटन डीसीमा मेयरले १५ दिनसम्म सार्वजनिक आपत्काल लगाएका छन् ।  

मेलेनिया ट्रम्पकी चिफ अफ स्टाफ स्टेफनी ग्रिशामले क्यापिटल हिंसापछि राजीनामा दिएको बताइएको छ । 

यो हिंसालाई लिएर विश्वभरका नेताहरूले आलोचना गरेका छन् । अधिकांश नेताहरूले ‘यस प्रकारको हिंसा लोकतन्त्रको लागि खतरा’ भएको बताएका छन् ।  

तस्बिर : एजेन्सी 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया