बत्ती गएको गयै, प्राधिकरण भन्छ– ‘बिजुली काटेका छैनौँ’

 पुस २३, २०७७ बिहिबार १५:५७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौ उपत्यकालगायत देशका कुनै पनि ठाउँमा घोषित वा अघोषित रूपमा विद्युतको कटौती नभएको बताएको छ । प्राधिकरणले प्राविधिक समस्याका कारण केही समय कहीँ कतै बिजुली बत्ती काटिएको भए पनि त्यसलाई लोडशेडिङको रूपमा नबुझ्न आग्रह गरेको हो । 

उपभोक्तालाई गुणस्तरीय, भरपर्दाे र आवश्यकताअनुसारको बिजुली उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सब–स्टेशन सुदृढीकरणका लागि प्रयास भइरहेको प्राधिकरणले दाबी गरेको छ । प्रसारण तथा वितरण लाइन र सब–स्टेशन सुदृढीकरणका लागि चालिएका कदमबाट छिनछिनमा बत्ती जाने ट्रिपिङको समस्या घट्दै गएको समेत प्राधिकरणले दाबी गरेको छ । 

प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केबलमा क्षति पुग्ने, केही स्थानमा पोल तथा टान्सर्फमर सार्नुपर्ने लगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुन सक्ने बताउनुभयो । उहाँले समस्या देखिएका सब–स्टेशनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्ने लगायतका काम निरन्तर भइरहेको पनि जानकारी दिनुभयो । 

स्थानीय माग धान्न नसक्ने अवस्थामा ओभरलोड रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउने लगायतका काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्ने काम भइरहेको शाक्यले बताउनुभयो । 

प्राधिकरणको तथ्याङ्कअनुसार विद्युतको माग सबैभन्दा धेरै हुने काठमाण्डौ उपत्यकामा यस वर्षको मङ्सिरमा ३४७ पल्ट ट्रिपिङ भएको छ । काठमाण्डौ उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सब–स्टेशनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको प्राधिकरणले जनाएको छ । गएको वर्षको मङ्सिरमा ५ सय ७७ पटक ट्रिपिङ भइ ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

पछिल्लाे केही महिनायता ग्राहकहरूले पटक–पटक बत्ती जाने गरेकाे गुनासाे गर्दै आइरहेका छन् तर प्राधिकरण भने हप्तैपिच्छे विज्ञप्ति निकाल्दै लाेडशेडिङ भएकाे नमान्न आग्रह गर्दै आइरहेकाे छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया