‘५ वर्षमा हुने चुनावलाई अढाई वर्षमा झार्ने हुकुमी शासन कहाँबाट प्राप्त भयो ?’

 पुस २३, २०७७ बिहिबार १८:३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले वैशाखमा चुनाव नहुने बताउनुभएको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पाउने संसद्को अधिकार भएकाले त्यससँग डराएर संसद् विघटन गर्न नहुने बताउनुभयो ।

पार्टीले काम गर्न नदिए अध्यक्ष असफल भएको हुने र अविश्वास प्रस्ताव आउन लागे प्रधानमन्त्री असफल हुने भन्दै उहाँले सरकारलाई पार्टीले सहयोग गरेको भए पनि पार्टीको विवादमा प्रधानमन्त्रीले संसद् र व्यवस्थामाथि प्रहार गरेको बताउनुभयो ।

वैशाखमा चुनाव नहुने भन्दै उहाँले प्रधानमन्त्रीले झुट बोलेको साबित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीले काम गर्न दिएन भने पार्टीको अध्यक्ष असफल रहेछन् भन्ने जान्नुपर्‍याे । संसद्ले अविश्वास प्रस्ताव ल्याउने भयो भने प्रधानमन्त्री असफल भयो त ? अविश्वास ल्याउने त संसद्को अधिकार हो । तीन वर्ष बजेट पारित गरिदियो । कार्यनीति पारित गरिदियो । विधेयक पारित गरिदियो । विवाद पार्टीमा भयो । प्रहार संसद्लाई गर्ने ? नागरिक र व्यवस्थाको विरुद्ध प्रहार गर्ने ? संविधानलाई शक्तिहीन बनाउन खोज्ने ? ताजा जनादेश प्रधानमन्त्रीको हुकुमबाट हुने कि संविधानबाट हुने ? पाँच वर्षमा हुने चुनावलाई अढाई वर्षमा झार्ने हुकुमी शासन कहाँबाट प्राप्त भयो ? संवैधानिक सर्वोच्चताको सिद्धान्त हामीले अङ्गालेका छौँ । यो देशको ठूलो संविधान हो । संवैधानिक सर्वोच्चता ठूलो हो । वैशाखमा चुनाव हुन्न । प्रधानमन्त्रीले फटाहा बोलेको हो भन्ने साबित हुन्छ ।’ 

सांसद बिडारीले संविधान निर्माण गर्दाताका देश विदेशका विज्ञहरूसँग परामर्श गरी प्रतिनिधि सभा प्रधानमन्त्रीको सनकको भरमा भङ्ग गर्न नसकिने बनाइएको बताउनुभयो । सरकारको अलोकप्रियता बढ्दै गएकाले यो व्यवस्था, बहुदलीय प्रतिस्पर्धा हुने प्रणाली र आफ्नै पार्टीका विरुद्धमा संसद् विघटनको घोषणा गरिएको उहाँको भनाइ छ ।

राष्ट्रियता, सङ्घीयता, एकता, तथा गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई समेत संसारका अगाडि लज्जित बनाउने दुष्कार्य गरिएको उहाँले बताउनुभयो । प्रतिनिधि सभा विघटनले राज्यको सबै संवैधानिक आयोगका पदाधिकारीलाई पनि विवादास्पद बनाउने काम भएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया