प्रधानमन्त्रीले पदअनुसारकाे सम्मान पाउने काम गर्न सक्नुभएन : राष्ट्रिय सभा सदस्य यादव

 पुस २३, २०७७ बिहिबार १८:२१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले प्रधानमन्त्री ओलीले पदीय आचरणभन्दा विपरीत काम गरेको टिप्पणी गर्नुभएको छ । 

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै सांसद यादवले प्रधानमन्त्री ओलीले आफ्नो पदअनुसारको सम्मान पाउने काम गर्न नसकेको बताउनुभएको हो । त्यसैले प्रधानमन्त्रीलाई सम्माननीय भन्ने कि असम्माननीय भन्ने आफू द्विविधामा परेको यादवले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको यो कदमको, अझ सम्माननीय प्रधानमन्त्री भन्दा पनि सम्माननीय भनौं की नभनौं ? काम चाहिँ अर्कै–अर्कै किसिमको गर्ने, सम्मान पाउने खालको काम नगर्ने, सम्माननीय प्रधानमन्त्री भनौँ की असम्माननीय प्रधानमन्त्री भनौँ ? बडा द्विविधामा छु ।’

प्रतिनिधि सभा विघटन असंवैधानिक मात्रै नभएर अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरङ्कुश र कायरतापूर्ण भएको पनि सांसद यादवकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा विघटनकाे घाेर भर्त्सना म र मेरो दलले गर्दछ ।’ 

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको अन्तरिक विवादलाई देखाएर जननिर्वाचित संस्थालाई नै विघटन गर्ने कदम ठिक नभएको उहाँले बताउनुभयो । सांसद यादवले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई श्रीमती र बुबासँग झगडा हुँदा घरमा आगो लगाएको घटनासँग तुलना गर्नुभयो । 

सांसद यादवले प्रधानमन्त्री ओलीको आफूलाई संसदमा घेराबन्दीमा परेको भन्ने भनाइको समेत प्रतिवाद गर्नुभएको छ । उहाँले नक्सा पारित गर्दा घेराबन्दीमा परेको हो भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘घेराबन्दी रे । कसले पार्‍याे घेराबन्दीमा । यो चुच्चोको लागि प्रस्ताव राख्नुभयो, त्यो वास्तवमा सिङ्गो सत्तापक्षको, प्रतिपक्षको सर्वसम्मतिले प्रतिनिधि सभा राष्ट्रिय सभाले साथ थियो । कहाँ घेराबन्दी गरेको थियो प्रतिनिधि सभाले । कुन विषयमा घेराबन्दी गर्‍याे त्यसैले यो अलोकतान्त्रिक कदम हो । 

देशको अविभावक रहेकाे संस्था, संविधानको संरक्षक रहेको संस्था राष्ट्रपतिले नै गुटबन्दीमा परेर प्रधानमन्त्रीको कदमलाई सदर गरेको समेत उहाँकाे भनाइ छ । उहाँले मिल्छ भने त्याे कदम अझै पनि फिर्ता लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो अविभावक, सम्पूर्ण नेपालीको अविभावक । संविधानको संरक्षक । तर उहाँले एउटा गुटबन्दीमा परेर यस्तो काम गराइयो । सम्माननीय प्रधानमन्त्रीबाट सम्माननीय राष्ट्रपतिले । म आग्रह गर्न चाहन्छु अहिले पनि सच्चिने ठाउँ छ भने सच्याइयोस् ।’

सांसद यादवले मुद्दा संवैधानिक इजलासमा गएको र त्यहाँबाट न्याय पाउने आशा रहेको बताउनुभयो । 

यस्तै सरकारले उखु किसानको हितमा काम गर्न नसकेको पनि सांसद यादवले बताउनुभयो । देशमा उखु किसानहरूले आफ्नो पैसा नपाएर जाडोमा आन्दोलन गर्नुपर्ने, आन्दोलन गर्दै गर्दा मर्नुपर्ने तर सरकारले टुलुटुलु हेरिरहेको मात्रै उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया