ताजा जनादेशका लागि चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास : खिमलाल भट्टराई

 पुस २३, २०७७ बिहिबार १९:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले ताजा जनादेशका लागि चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास भएको बताउनुभएको छ । 

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक भट्टराईले प्रतिनिधि सभालाई आफ्नै सरकार ढाल्ने संयन्त्रको रूपमा दुरुपयोग गर्न दाउपेचको अखडा बनाउन थालेपछि प्रधानमन्त्रीले बाध्यात्मक कदमको रूपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै ताजा जनादेशमा जानु नै वर्तमान राजनीतिको सही निकास हुने बताउनुभयो । 

सरकारलाई काम गर्न नदिइएको, संसद् र सरकारलाई साधारण ढङ्गले चल्न नदिइएकाे कारण राजनीतिलाई अस्थिरतातिर जान र धमिल्लिएको राजनीतिलाई सङ्ग्ल्याउन चुनावमा जानु अनिवार्य आवश्यकता भएको उहाँकाे भनाइ छ । 

संविधानमा संसद् विघटनको विशेषाधिकार प्रधानमन्त्रीसँग भएको र वर्तमान राजनीतिक अवस्थाको सही समाधान चुनावले नै दिन सक्ने भएकाले सबै चुनावतर्फ केन्द्रित हुनुपर्ने भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धमिल्लिएकाे राजनीतिलाई सङ्ल्याउन नागरिकमा जानु अनिवार्य आवश्यकता बन्न गयो । यसैको परिणाम स्वरूप प्रतिनिधि सभाको विघटन र चुनाव मिति घोषणा भयो । प्रतिनिधि सभा विघटनको संविधानमा व्यवस्था नै छैन भन्ने कुरा गलत हो । धारा ७६ र ८५ मा व्यवस्था छ । संसद् विघटन गरेर नागरिकमा जाने कुनै पनि लोकतन्त्र व्यवस्थामा प्रधानमन्त्रीको विशेषाधिकार सुरक्षित रहन्छ । यो नै लोकतन्त्रको मूल्य र मान्यता हो । ताजा जनादेशका लागि चुनावमा जानु नै आजको राजनीतिको सही निकास हुन्छ । अरू कुनै विकल्पले देशलाई अस्थिरता र द्वन्द्वतिर नै लैजान्छ । आजको राजनीतिको सही समाधान चुनावले नै दिन सक्छ । त्यसैले सबै चुनावतिर ने केन्द्रित हाेऔँ ।’

प्रमुख सचेतक भट्टराईले सरकारले काम गरेन भनेर नागरिकमा निराशा फैलाउने दुष्प्रचार गरिएको समेत बताउनुभयो । सरकारले थुप्रै काम गरेको र देशलाई विकास र समृद्धितर्फ अगाडि बढाएको उहाँको भनाइ छ । सङ्कट र खतरायुक्त तुइनबाट मानव जीवनलाई मुक्ति दिनु, लोडशेडिङमुक्त गर्नु तथा सङ्घीयतालाई बलियाे पार्नु लगायतका मुख्य काम सरकारले गरेको उहाँले जिकिर गर्नुभयाे । 

प्रधानमन्त्रीलाई सङ्घीयता विरोधी करार गर्न खोजिए पनि सङ्घीयताको संस्थागत विकासको निम्ति कानुनी प्रबन्ध, संरचनागत व्यवस्था, बजेट विनियोजन, कर्मचारी व्यवस्थापन, सुरक्षा अङ्गहरूको व्यवस्थापन गरी प्रधानमन्त्रीले सङ्घीयतालाई बलियाे बनाएकाे उहाँकाे दाबी छ । 

सरकारले सामाजिक सुरक्षा भत्ता, जनता आवास कार्यक्रम, सुकुम्बासी भूमिहीनलाई जमिनको मालिक बनाउने काम गरेको, फुसको छानोलाई विस्थापित गर्ने काम सुरु गर्नु, प्रत्येक पालिकामा अस्पताल निर्माणको शिलान्यास गर्नु र सडक मानवमुक्त बनाउने काम गर्नुले समाजवादतर्फको यात्रालाई इङ्गित गरेकाे उहाँकाे भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया